काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै चर्को गरी उठेको ‘चिनियाँ रेल’ को चर्चा उनी भ्रमण सकेर स्वदेश फर्किँदा विमानस्थलमा पनि उठिहाल्यो। ६ दिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्न थियो- ‘रेल कहिले आइपुग्छ ?’
चीनसँग ‘बेल्ट एण्ड रोड इनिसियटिभ सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन दुबै पक्षले हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको फ्रेमवर्क भित्र रही रेल्वे, सडक, बन्दरगाह, हवाई मार्ग र संचार जस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने’ सहमति गरी फर्केका ओलीले चीनसँग भएको सहमति महत्वपूर्ण रहेको बताए पनि रेल आउन भने समय लाग्ने बताए।
प्रधानमन्त्रीले तिब्बत पठारभन्दा नेपालको हिमाली भूभाग ओरालो भएकोले रेलका लागि विस्तृत सर्भे गरी निर्णयमा पुग्ने बताए। ‘तिब्बती पठार उचाइमा भए पनि अलिक अनुकूल छ। तर नेपालपट्टीको हिमाली भेग एकैचोटी धेरै ग्राउन्ड खान्छ’, प्रधानमन्त्रीले भने, ‘त्यसकारण यसको विस्तृत सर्भे आदि कामहरू गर्नुपर्छ। अलिक समय लाग्छ।’ 
ओलीले नेपालमा रेल वे कनेक्टिभिटी नयाँ प्रयोग र विकास भएकोले हतारोमा काम गर्न नहुने बताए। ‘धेरै हतारो भन्दा परिपक्व ढंगले काम गर्नुपर्ने हुन्छ। परिपक्व ढंगले डिटेल सर्भे गरेपछि केही वर्षमा रेल आउँछ’, उनले भने।
चीनका राष्ट्रपति सि जिनपिङले नेपालमा रेल पुर्याउनु आफ्नो भिजन भएको वार्ताका क्रममा सुनाएको ओलीले बताए। जनवादी गणतन्त्र चीनका राष्ट्रपिता माओत्सेतुङले पनि नेपालमा रेल ल्याउने कुरा गरेको आफूले थाहा पाएको ओलीले बताए।
‘नेपालमा रेल पुर्याउने आफ्नो भिजन रहेको कुरा वार्ताका क्रममा राष्ट्रपति सिले भन्नुभएको छ र, संयुक्त वक्तव्यमा पनि आएको छ’, ओलीले भने, ‘चेयरमेन (अध्यक्ष) माओले पनि यो (नेपालमा रेल ल्याउने) कुरा भन्नुभएको भन्ने कुरा पनि भएको छ। यो छिटै नै हुन्छ।’
पत्रकारहरूको अर्को प्रश्न थियो- चीनबाट आउने रेलमा लगानी कसको हुन्छ? चीन वा नेपालको ?
प्रधानमन्त्री ओलीले लगानीका बारेमा प्रश्नको ठट्यौली जवाफ दिए। ‘जोसँग पैसा छ ऊसले लगानी गर्ने हो। पैसा नहुनेले गर्नुपर्दैन’, ओलीले भने, ‘सम्भाव्यता ढुक्क भएपछि बल्ल लगानीको कुरा हुन्छ।’
नेपालले एउटा छिमेकी विरुद्ध अर्को छिमेकीको कार्ड नखेल्ने प्रधानमन्त्रीले स्पष्ट पारे। एकछिनको लोकप्रियताका लागि आवधिक कुटनीति नगर्ने ओलीको भनाई छ। ‘हामी छिमेकीविरुद्ध कुनै कार्ड खेल्दैनौँ। आवधिक कुटनीति गर्दैनौँ। एकछिनको लोकप्रियताका लागि काम गर्दैनौँ’, उनले भने।
चिनियाँ राष्ट्रपतिले ‘उपयुक्त समयमा नेपाल भ्रमण गर्ने विश्वास लिएको’ उनले बताए। एकान्त वार्ताका क्रममा पनि राष्ट्रपति सिले त्यही भनेको उनको भनाई छ। ‘सुविधाअनुसार दिन निर्धारण गरिन्छ’, ओलीले भने।