२०८१ वैशाख २५ गते | 7th of May 2024

मेक्सिकोको ओकाम्पो शहरका सबै प्रहरीहरु गिरफ्तार

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १२ गते ६:२१

एजेन्सी – मेक्सिकोको एउटा सहर ओकाम्पोमा पुरै प्रहरी संगठनलाई नै गिरफ्तार गरेर छानबिनका लागि थुनामा राखिएको छ । स्थानीय एक मेयरका उम्मेदवारको हत्यामा संलग्न भएको आरोपमा सबै प्रहरीलाई गिरफ्तार गरिएको हो । मंगलबार फर्नान्डो एंजेल्स सुआरेजलाई अज्ञात बन्दूकधारीले उनकै घर बाहिर गोली हानी हत्या गरेको थियो । उनी ६४ वर्षका थिए ।

१ जुलाइमा मेक्सिकोमा निर्वाचन हुँदै छ । र, अहिलेसम्म त्यहाँ एक सयभन्दा बढी नेता मारिइसकेका छन् । यो सातामात्र हत्या भएका नेतामा एन्जेल्स तेस्रा नेता हुन् ।

एन्जेल्सको हत्यापछि संघीय प्रहरीले सहरका २७ प्रहरी अधिकारी र अन्य सार्वजनिक सुरक्षा स्थानीय सचिवहरुलाई गिरफ्तार गरेको छ ।
मेक्सिकोका एन्जेल्स राजनीतिभन्दा पनि बढी व्यवसायीका रुपमा चिनिन्थे । यसपटक उनले पहिले स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए तर पछि मेक्सिकोकै ठूलो राजनीतिक पार्टी डेमोक्रेट रिभोलुसनको सदस्यता लिएका थिए ।

यो हत्याको आरोप ओकाम्पोका सुरक्षा सचिवमाथि लागेको छ । मेक्सिकोको संघीय प्रहरी उनलाई पक्राउ गर्न जाँदा स्थानीय प्रहरी अधिकारीले उसलाई रोकेको थियो ।

त्यसैले दलबालसहित गएर संघीय प्रहरीले पूरै प्रहरी संगठनका अधिकारीहरुलाई गिरफ्तार गरेर हतकडी लगाएर सोधपुछका लागि मेक्सिकोको राजधानी लगेको छ ।

मेक्सिकोमा आगामि साता राष्ट्रपति, सांसद् तथा मेयरका लागि निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *