२०८१ वैशाख २० गते | 2nd of May 2024

जति चिच्याए पनि नबन्ने भो काठमाडौंको जोरपाटी – साँखु सडक

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २१ गते ११:४३

काठमाडौं – समयमै काम नगरी विकास आयोजनालाई अलपत्र पार्ने काम राजधानी भित्रै बढि देखिएको छ । राजधानीका अधिकांश सडक सम्पन्न हुनुपर्ने म्याद सकिएपनि काम आधा पनि भएको देखिँदैन । ठेक्का लिन प्रतिस्पर्धा गर्ने व्यवसायीले निर्माणमा उदासीनता देखाउँदा सर्वसाधारणले भने सास्ती भोग्नुपरेको छ । काम नगर्ने र बहाना खोज्ने ठेकेदारहरूका कारण धेरै निर्माण आयोजना लथालिंग बनेको छ ।

जोरपाटी हुँदै साखुँ जोड्ने सडकखण्ड पुग्ने हो भने त्यो बाटो बर्षातमा धान रोप्न मिल्ने खालको हुन्छ । भत्किएको सडकमा धुलो र हिलोको सास्ती उस्तै छ । १२.५ किमी रहेको यो सडकमा ९ ठेकेदार कम्पनीले ५ वटा खण्डमा काम गरिरहेका छन् । यो सडकको म्याद सकिएको ६ महिना भइसकेको छ तर काम भने बल्ल २७ प्रतिसत मात्रै देखिएको छ ।

१२.५ किमी लम्बाई रहेको यो सडक पनि ठेकेदारको लापरबाहीका कारण हालसम्म पनि बन्न सकेको छैन ।


उपत्यका सडक विस्तार आयोजनाले २०७२ असोजमा ५ वटा प्याकेज बनाएर यो सडक निर्माणका लागि ठेक्का दिएको थियो। तर एक तिहाई पनि काम हुन नसक्दा सडक विस्तारका नाममा ठेकेदारको लापरबाही भएको छ ।चाबहिलबाट बौद्ध जोरपाटी हुँदै दक्षिणढोकासम्म ३.६ किलोमिटर सडक निर्माणको जिम्मा युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालिले पाएको छ।

२०७२ असोजमा ठेक्का लागेर २०७४ चैत्रमा सम्पन्न गर्ने सम्झौता भएको भए पनि १० प्रतिशत मात्रै काम सकिएको छ। केही घर सडक सिमानामा परेको देखाउँदै काममा ढिलाई गरे पनि अवरोध नभएका ठाउँमा पनि काम भएको देखिदैंन । दक्षिणढोकाबाट २.४ किलोमिटर सडक निर्माणको जिम्मा बज्रगुरु च्याङमिला खानी जेभीले पाएको छ। २०७२ असोजमा २०७४ माघमा सम्पन्न गर्ने गरि सम्झौता भएको भएपनि बल्ल ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ।

थलीबाट ३ किमी साँखु खण्ड निर्माणको जिम्मा बज्रगुरुरविरुवा खानी जेभीले पाएको छ। गत वैशाखमा पुरा गर्नुपर्ने भएपनि बल्ल ३० प्रतिशत मात्रै काम भएको छ। घर, पोल, स्थानीयको विवादलाई देखाएर काम रोकिएको छ । खुलालटार सलम्बुटार २.४६ किमी खण्डको जिम्मा बिटीरसुनकोशी वल्र्डवाइडले पाएको छ। गत माघमै पूरा गर्नुपर्ने यो खण्डको काम बल्ल ३५ प्रतिशत मात्र सकिएको छ । 

१.०४ किमी साँखुसम्मको अन्तिमखण्ड निर्माणको जिम्मा लामा समानान्तर जेभीले पाएको छ । जसको बल्ल १० प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । खानेपानी, ढलका पाइप, विद्युत, टेलिकमका पोल स्थानीयको अवरोध जस्ता कारण देखाएर अवरोध नभएका ठाउँमा समेत काम नगरि बसेको ठेकेदारलाई आयोजनाले १ वर्ष म्याद थप गरिदिएको छ ।

उपत्यका सडक विस्तार आयोजना अन्तर्गका मिति सकिएर काम पूरा नभएका सबै ठेक्कामा एक वर्षको समय थपिने आयोजनाले जनाएको छ। यसरी काम समयमा नसक्दा स्थानीयले पटक पटक विरोध समेत गर्दै आइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *