२०८१ वैशाख २० गते | 2nd of May 2024

कांग्रेस नेता प्रदीप पौडेलको नेतृत्वमा ऐतिहासिक कार्यको थालनी

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २४ गते ११:४२

प्युठान – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्यूठानको मरन्ठानाबाट देशब्यापी रुपमा स्वतन्त्रता सेनानी सम्मान तथा अभिलेख संकलन अभियानको उद्घाटन गरेका छन् । अभियानको उद्घाटन गर्दै नेता पौडेलले कांग्रेसका हजारौँ स्वतन्त्रता सेनानीहरुले संघर्ष गरेर आएको लोकतन्त्रमाथि अहिले खतरा रहेको बताए । वर्तमान सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि सत्याग्रह सुरु गरेका गोविन्द केसी र अदालतको आदेश कार्यान्वयनको माग गर्दै आएकी गंगामाया जस्तालाई समेत अधिनायकवाद देखाउन सुरु गरेको भन्दै पौडेलले कडा आपत्ति जनाए । सरकारको पछिल्ला कामको तीव्र बिरोध गर्दै पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकारले सरकारी तथा नागरिक संयन्त्रहरु कमजोर बनाई व्यक्ति शक्तिशाली बनाउने प्रयास गरेको आरोप समेत लगाए । देशभर रहेका कांग्रेस स्वतन्त्रता सेनानीहरुको संघर्ष र बलिदानले मुलुक यहाँसम्म आएको भन्दै नेता पौडेलले फेरि पनि पुरानै परिस्थिति आए कांग्रेसले त्यसको प्रतिकार गर्ने बताए । फरक प्रसंगमा नेता पौडेलले कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेकाले अब युवाहरुले नेतृत्व गर्ने समय आएको बताए ।

वर्तमान अधिनायकवादका बिरुद्धमा अब कांग्रेसका युवाहरु एकहुने समेत पौडेलले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता डाक्टर गोविन्दराज पोख्रेलले मुलुक आर्थिक रुपमा ध्वस्त हुन थालेको भन्दै त्यसको सबै जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने बताए । कार्यक्रममा प्यूठानका दिवंगत तथा जीवित गरी ६५ जना स्वतन्त्रता सेनानीहरु सम्मानित भए । दिवंगत सेनानीहरुको धर्मपत्नी तथा आफ्न्तले सम्मान लिएका छन भने जीवित २३ जनालाई स्वतन्त्रता सेनानी सम्मान अभियानका केन्द्रीय संयोजक पौडेलले सम्मान गरे । २००७ साल देखि निरन्तर रुपमा विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भुमिका खेलेका स्वतन्त्रता सेनानीहरुको देशभरमा सम्मान कार्यक्रम राख्दै अभिलेख तयार पारिने लोकतन्त्रबादी प्राध्यापक संघका केन्द्रीय सचिव डा. बिष्णु पोख्रेलले बताए । देशभरमा कांग्रेसमा तथा देशका लागि योगदान दिएका ब्यक्ति तथा स्वतन्त्रता सेनानीहरुको इतिहास तयार गर्नका लागि केन्द्रबाट युवा नेता प्रदीप पौडेलले अभियान सुरु गरेका हुन् । यसैबीच आइतबार बुटवलमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकारका कारण लोकतन्त्रमा खतरा उत्पन्न भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *