बाल्टिमोर (अमेरिका) – बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)ले वाचन प्रविन दिनबन्धु पोखरेललाई स्वागत तथा सम्मान गरेको छ । बाल्टिमोरमा मन्दिर निर्माणका लागी आयोजना गरिएको महायज्ञमा कथा वाचनका लागी सहभागी हुन आएका बेला बानाले आफ्नै भवनमा आइतवार एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको हो । सन २०११ बना सामुदायीक भवन निर्माणका लागी वाचन प्रबिन पोखरेलको सहभागीतामा महायज्ञ आयोजना गरिएको थियो ।
सोही महायज्ञ पछि बाना भवन निर्माणमा सहजता आएको तथा बाल्टिमोरवासी नेपालीको एकताका कारण हाल मन्दिर निर्माणका लागी समेत महायज्ञ आयोजना गरि कथा वाचनका लागी उनै पण्डित दिनबन्धु पोखरेल सहभागी भएको अवसर पारी बानाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बहावाणिज्यदुत प्रेमराजा महत, समाजसेवी डा. श्याम कार्की, बानाका सल्लाहकार कृष्णजिबी पन्त, एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्ष दुर्गा श्रेष्ठ, बानाका सहयोगी राजन कट्टेल, पण्डित षडानन्द सापकोटा लगायत बानाका बर्तमान तथा पुर्ब पदाधिकारी स्थानीय नेपाली समाजसेवी, बुद्धिजिवी लगायतको सहभागीता रहेको थियो । 
बानाकी अध्यक्ष अनु वन्तको सभापतित्वमा भएको कार्यक्रममा महावाणिज्यदुत महत, वाचन प्रविन पोखरेल, वानाका पुर्ब अध्यक्ष बिजय श्रेष्ठ, कृष घिमिरे, कुलमणी आचार्य, बानाका पुर्ब महासचिव प्रभु थापा लगायतले स्वागत तथा सम्मान मन्तव्य राख्नुभएको थियो । सागर घिमिरेले संचालन गरेको कार्यक्रममा बानाको अवस्था र बर्तमान गतिबिधी बारे महासचिव हिरा गुरुङले प्रकाश पार्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष स ुबोधराज पन्तले धन्यबाद ज्ञापन गर्नुभएको थियो । 
सो अवसरमा बोल्ने बक्ताहरुले बाल्टिमोरका नेपाली संघसंस्थाहरुबीच कुनै किसिमको मनमुटाव र प्रतिस्पर्धा नराखेर सहकार्य र सहमतीका आधारमा अघि बढ्नु पर्नेमा जोड दिएका थिए । बाल्टिमोरमा रहेका नेपाली संघसंस्थाहरुबीच मेलमिलाप र सहमतीका साथ अघि बढाउन उल्लेख्य भुमिका खेल्ने महावाणिज्यदुत महत र समाजसेवी डा. श्याम कार्कीलाई सबैले धन्यवाद ज्ञापन गरेका थिए । डा. कार्की ती व्यक्ति हुन जसले बाल्टिमोरमा मन्दिर निर्माणका खातिर जारी महायज्ञको पहिलो दिन १ लाख डलर दान गरेका थिए ।
कार्यक्रमका अवसरमा जारी महायज्ञलाई भव्य रुपमा सफल पार्न सबैले आ आफ्नो ठाउंबाट सहयोग गर्न सबैलाई अनुरोध समेत गरिएको छ ।