२०८१ साउन १२ गते | 27th of July 2024

अब सबै जिल्लामा सशस्त्र प्रहरी बलको कार्यालय

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते ५:०८

काठमाडौं   सशस्त्र प्रहरी बलले नेपालका ७७ ओटै जिल्लामा कार्यालय विस्तार गर्ने भएको छ । मुलुक संघीय संरचनामा गएपछि सशस्त्र प्रहरी बलले पनि आफ्नो क्षेत्र विस्तार गरेको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डिआइजी बाबुराम पाण्डेले परिवर्तित व्यवस्थाअनुसार आफ्नो ढाँचा परिवर्तन गरिएको बताए । डिआइजी पाण्डेका अनुसार हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्यामा वृद्धि गर्दै ७ प्रदेश र उपत्यकामा १ गरी जम्मा ८ वटा बाहिनी राख्ने तयारी पनि गरेको छ ।

विद्यमान तालिम केन्द्रहरु यथावत् राखी सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप नयाँ ५ तालिम केन्द्र स्थापना गर्दै २३७ नफ्रीका सीमा सुरक्षा कार्यालयलाई नाम परिवर्तन गरी ६२१ नफ्रीको गणमा स्तर वृद्धि गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ । यस्तै ३८ को संख्यामा रहेका अनाश्रित गुल्महरुको संख्यामा वृद्धि भई ५६ र १७ स्थानमा आश्रित गुल्महरु स्थापना भई सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपाल परिचालन हुने पाण्डेको भनाइ छ ।

सशस्त्रले गर्न खोजेका थप काम

सशस्त्र प्रहरी बलले नेपालका इकाईहरु (तालिम शिक्षालय बाहेक) ८ स्थानमा रहेका बाहिनीको कमाण्डमा परिचालन हुने । जिल्लामा रहेका सबै किसिमको गुल्म तथा पोष्टहरुको कमाण्ड उक्त जिल्लामा रहेको सशस्त्र प्रहरी गणको रहने ।
केन्द्रमा सशस्त्र प्रहरी बल महिला गुल्मको स्थापना गरिने साथै प्रत्येक बाहिनीमा १–१ से.मु. नफ्रीमा महिला सशस्त्र प्रहरी कर्मचारीलाई खटाइने । हाल प्रदेश नं. १ र प्रदेश नं. ६ मा क्षेत्रीय अस्पताल रहेकोमा भविष्यमा सबै प्रदेशमा रहने गरी स्थापना गर्दै लगिने ।

सशस्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्दा जिम्मेवारीसहित सरुवा प्रणालीको नीति बनाई सरुवा गर्न लागिएको पनि डिआइजी पाण्डेले बताए । विकट रहेका नागरिकहरुलाई समेत सशस्त्र प्रहरी सेवा प्रदान गर्न परम्परागत सांगठनिक संरचनाको अवस्थाबारे विस्तृत अध्ययन गरिएको जनाएको छ । पाण्डेका अनुसार विपद व्यवस्थापन,राजश्व चुहावट नियन्त्रण,सीमा,शान्ती सुरक्षा लगायतका कामका लागि विशेष योजना ल्याइएको छ । पाण्डेले अपराध नियन्त्रणमा पनि सशस्त्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।

३ महिनामा ३ करोड ८९ लाखको सामान बरामद

सशस्त्र प्रहरी बलले पछिल्लो तीन महिनामा ३ करोड ८९ लाख ४४ हजार ९४३ रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ । देशका विभिन्न स्थानबाट सशस्त्रले यो सामग्राी बरामद गरेको डिआइजी पाण्डेले बताए ।

विपद् व्यवस्थापनमा सक्रियता

सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यका, चितवनको कुरिनटार लगायत सबै बाहिनीहरुमा ५० जनाको दरले दक्ष जनशक्ति खटाइएको जनाएको छ । यस्तै वैशाख,जेष्ठ र आषाढ महिनाको अवधिमा उद्दार कार्यमा ४ हजार ७ सय १९ जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *