२०८१ जेठ ४ गते | 17th of May 2024

सधैंं उप्किने त्रिभुवन विमानस्थलको रन-वे पिचका पाप्राहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते १४:१७

काठमाडौं – मंगलबार दिउँसो पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रेन-वे)को पिच उप्किएको छ । रन वे पिच उप्किँदा झण्डै आधा घण्टा विमानस्थलको उडान-अवतरण सबै रोकिए । उड्न लागेका विमान मात्रै हैन, अवतरणका लागि तयार रहेका विमान आकाशमै होल्ड भए । त्रिभुवन विमानस्थलको धावनमार्गको पिच उप्किने समस्या नयाँ हैन । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वर्षायाम लागेपछि निकै बढ्छ ।

विमानस्थलले तत्कालै धावनमार्ग ममर्त गर्न ‘क्विक रेसपोन्स टिम’ बनाएको छ, जुन टिम धावनमार्गको पिचमा समस्या देखिएको खबर पाउनासाथै मर्मतका लागि दौडन्छ । जति छिटो गर्दा पनि संवेदनशील धावनमार्गमा फाटेको धाँजा भर्न र व्यवस्थापन गर्न समय लागिहाल्छ । धावनमार्गमा वर्षायाममा समस्या पिच उप्किने दोहारिरहँदा व्यवस्थापनमा ठूलो चुनौती थपिएको विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले बताउँछन् । यसै पनि त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जामको समस्या ब्याप्त छ । त्यसमाथि धावनमार्गको पिच उप्किएपछि नियमित तालिकामा झण्डै एक घण्टा अवधिको दबाव सिर्जना हुन्छ ।

जसलाई म्यानेज गर्न एयर ट्राफिक कन्ट्रोलरलाई धौ-धौ पर्छ भने आकाशमा विमान होल्ड हुँदा यात्रुमाथि मानसिक दबाव पनि कम हुँदैन । उड्न तयार भएका यात्रुलाई पनि प्रतीक्षा गर्न सहज हुँदैन । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर धावनमार्गको दक्षिणतर्फको भाग (ल्याण्डिङ एरिया) तर्फ पिच उप्किने समस्या बढेको बताउँछन् । उनले धावनमार्गलाई रिहृयाब (पुनर्स्थापना) नगरेसम्म यो समस्याबाट पार पाउने अवस्था नरहेको बताए ।

धावनमार्ग चिरा-चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । तर, अझै पनि टेण्डर प्रक्रिया नै पुरा हुन सकेको छैन । धावन मार्गमा मात्रै नभएर ट्याक्सी-वेमा पनि यस्तो समस्या पटक-पटक दोहोरिएको छ । ल्याण्डिङको समयमा धेरै भार भएका विमानले धावनमार्गमा उच्च चाप सिर्जना गर्दा समस्या आएको तर्क उड्डयन अधिकारीको छ ।

विमानस्थलका प्रवक्ता ठाकुर भने एउटै मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भएको र विमानको उडान-अवतरण्को चाप बढी भएकाले पनि समस्या दोहेरिरहेको बताउँछन् । ‘१५ वर्ष अघि नै यो अवस्था आउँछ भनेर सोचिएको भए यस्तो हुँदैन थियो,’ ठाकुर भन्छन्, ‘त्यही पनि आउने समस्यालाई समाधान गर्दै विमानस्थलको सेवालाई चुस्त बनाउन हामीले सक्दो प्रयास गरिरेका छौं ।’

वर्षयाममा घाम र पानीको दोहोरो मौसमी अवस्थाले पिच भन्दामुनि पानी पसेर कंक्रिट मोस्चरमा समस्या आउँदा पनि धावनमार्ग बिग्रने गरेको प्रमुख क्षत्रीको भनाइ छ ।

धावनमार्गको मर्मतका लागि विमानस्थलले पटक-पटक टेण्डर गरे पनि बजेट सानो भएको भन्दै ठेकेदारहरुलाई सहभागिता नै जनाएका छैनन् । धावनमार्ग मर्मतका लागि फेरि स्टिमेट बढाएर टेण्डर गरिएको क्षत्रीले बताए ।

समस्या स्थायी रूपमा समाधानका लागि १ वर्ष भन्दा बढी लगाएर विमानस्थलको धावनमार्गलाई पूर्ण रुपमा नयाँ बनाउने योजना समेत छ । अहिलेको कालोपत्रेलाई सबै उप्किएर नयाँ बिछ्याइनेछ ।

अब अहिलेको धाँजा फाट्ने समस्यालाई हटाउन अब धावनमार्गलाई भित्रि भागबाट पुनस्र्थापना गरिनेछ । भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाउने योजना छ ।

‘लामो समयदेखि सञ्चालनमा रहेको धावनमार्गको भित्री भागमा साना र ठूला छिद्रहरु पनि हुन सक्छन् । त्यसैले भित्रैबाट धावनमार्गको भित्री भू-बनोटलाई नै वैज्ञानिक ढंगले आवश्यक नयाँ निर्माण सामग्री राखेर पुनर्स्थापना गर्नुपर्छ,’ विमानस्थलका एक अधिकारीले भने ।

यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो रुप दिइनेछ । यो रिहृयाबको काम गरे २१ घन्टा मात्र चल्ने गरेको विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *