अमेरिका – प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका विरुद्ध सुरु गरेको सडक आन्दोलनका प्रति ऐक्यवद्धता जनाउंदै अमेरिकाबाट पनि सरकारका गलत हर्कतका विरुद्ध विरोध सुरु भएको छ । कांग्रेसको अमेरिकास्थित भात्री संगठन नेपाली जनसम्पर्क समितिले राजदूतावास र कन्सुलेट अफिसमा ज्ञापन पत्र बुझाएर सरकारको विरोध गर्ने भएको छ । समितिका सभापति एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले पार्टीको निर्देशन अनुरुप नै भोली बुधवार दिउँसो एक बजे वासिंगटन डिसीस्थित नेपाली राजदूतावास र न्यूयोर्कस्थित महावाणिज्यदूतावासको कार्यालयमा यस्तो ज्ञापन पत्र बुझाएको छ । 
यसैगरी विष्टले विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुलाई पनि अपील गर्दै सम्बन्धित देशमा रहेका नेपालको राजदूतावास वा कन्सुलेट अफिस मार्फत यस्तो विरोधको ज्ञापन पत्र बुझाउन अनुरोध समेत गरेका छन् । 
कांग्रेसले मंगलवार देशव्यापी रुपमा प्रदर्शन गर्दै सरकारको विरोध गरेको छ । त्यसैको निरन्तरताका लागि ज्ञापन पत्र मार्फत समितिले विरोध जनाएको हो । 
समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको अपिल :
आदरणीय लोकतन्त्रप्रेमी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
जय नेपाल
नेपाली कांग्रेसले वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी,दमनकारी एवं जनविरोधी क्रियाकलापको विरुद्धमा आज देशभर प्रदर्शन गरेको छ । कम्युनिष्ट सरकार गठन भए यता भएको पटकपटकको मूल्यवृद्धि,प्रेस एवं न्यायालय विरुद्धको सुनियोजित प्रहारलगायतका लोकतान्त्रिक मूल्य,मान्यताको खिलाप सरकारले गरिररहेका यस्ता हर्कतका विरुद्ध कांग्रेसले आज देशभर खबरदारी गर्दै विरोध गर्नुपरेको जगजाहेर छ । स्वतन्त्र न्यायालयमाथि नियोजित हस्तक्षेप गर्ने,प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिमाथि पनि हस्तक्षेप गर्ने निहीत उद्देश्यले कम्युनिष्ट सरकारले गरेका कतिपय कार्यहरुले अधिनायकवादी शासन व्यवस्थाको पूर्वाभ्यासको संकेत गरेको छ । अधिनायकवाद यस्तै गतिविधिहरुका कारण आउने हो ।
सरकार कानुनी शासन विरुद्ध नियोजित रुपमा उत्रिएको छ । दुई तिहाईको दम्भ देखाएर सरकार असहिष्णु बन्दै गएको छ । संवैधानिक व्यवस्थालाई समेत ठाडो चुनौती दिदैं सरकार यसरी दम्भ प्रदर्शन गर्दैछ । विगतमा हाम्रो पार्टीका आदरणीय सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएको विधिसम्मत नियुक्तिहरुलाई गैरकानुनी रुपमा खारेज गर्ने, संसदमा सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लंघन गर्ने लगायतका कार्य गरेर सरकारले आफुलाई लोकतन्त्रको मान्यता विरुद्ध उभ्याएको छ । 
यिनै गतिविधिका विरुद्ध हाम्रो विरोध प्रदर्शन हो । यसै सन्दर्भमा कांग्रेसको निर्देशन अनुसार, अमेरिकास्थित भात्री संगठन यस नेपाली जनसम्पर्क समिति,अमेरिकाले पनि सरकारको दम्भ,हठ र संवैधानिक मूल्य,मान्यता र विधिको शासन विरुद्धका सबैखाले हर्कत अनि अधिनायकवादी कार्यशैलीको विरोध स्वरुप वासिंगटन डिसी र न्यूयोर्कमा रहेको दूतावास र कन्सुलेट कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । म यसै अपील मार्फत डिसी र न्यूयोर्क क्षेत्रमा रहनु भएका समितिका सबै केन्द्रीय पदाधिकारी,सदस्य,च्याप्टर नेतृत्व र सदस्य साथीहरुलाई भोली बुधवार दिनको १:०० बजे वासिंगटन डिसीस्थित नेपाली राजदूतावास र न्यूयोर्कस्थित महावाणिज्य दूतावासको कार्यालमा उपस्थित भै दिनु हुन अनुरोध गर्दछु । आउनुहोस् हामी सबै मिली कम्युनिष्ट सर्वसत्तावादको विरुद्ध खबरदारी गरौँ ।
साथै म यसै अपील मार्फत विश्वभरका जनसम्पर्क समितिका सभापति मित्रहरुलाई पनि आ आफ्नो देशको दूतावास वा कन्सुलेट कार्यालयमा गई कम्युनिष्ट सरकारको लोकतन्त्र विरोधी गतिविधिको विरोध स्वरुप ज्ञापन पत्र पेश गर्नु हुन र लोकतन्त्रका स्थापित मूल्य,मान्यता र संवैधानिक अधिकारको रक्षाका लागि खबरदारी गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल !
आनन्द विष्ट
सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका
एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस