२०८१ वैशाख २० गते | 2nd of May 2024

नेपाल एयरलाइन्सद्दारा ६ वटा विमान किन्न सरकारसँग ५ अर्ब माग

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते १०:५२

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो । यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि विमान किन्न सरकारले निगमलाई ५ अर्ब उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नेछ । निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार कम्पनीको चुक्तापूँजी २० अर्ब पुर्‍याउन सरकारसमक्ष प्रस्ताव गरिएको छ । र, त्यसैअन्तरगत पहिलो चरणमा ५ अर्ब मागिएको हो ।

‘२० अर्ब चुक्तापुँजीका लागि पहिलो किस्ताबापत ५ अर्ब दिन प्रस्ताव गरेका हौं । क्रमैसँग सरकारले थप १५ अर्ब चुक्ता पूँजी थप्नुपर्छ,’ उनले भने,’त्यही ५ अर्बबाट हामी नयाँ ट्वीनअटर किन्ने योजनामा छौं ।’ निगमको चुक्तापूँजी हाल ३६ करोड मात्रै छ । ठूलो कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी थोरै हुँदा वित्तीय जोखिम उच्च हुन्छ । त्यसैकारण अब चुक्तापूँजी बढाएर त्यसलाई जहाजको संख्या वृद्धिमा लाग्नुपर्ने तर्क निगम व्यवस्थापनको छ । जसमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सकारात्मक छन् । अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा ६ अटा ट्वीननटर विमान किन्न निगमलाई सैद्धान्तिक स्वीकृति दिने उल्लेख गरेका थिए। त्यसैअनुसार अहिले निगमका लागि ६ वटा नयाँ विमान किन्नका लागि प्रक्रिया अघि बढेको छ ।

क्षेत्रीय उडान गर्ने लक्ष्य

महाप्रवन्धक कंशाकारले चालु आर्थिक वर्षभित्रै ६ वटा नयाँ ट्वीनअटर विमान नेपाल आइसक्ने बताए । कंशाकारका अनुसार ६ वटा विमानमध्ये ३ वटाले क्षेत्री उडानहरु गर्नेछन् । नेपालगञ्ज, विराटनगर र पोखराबाट क्षेत्रीय उडान गर्न एक-एकवटा विमान प्रयोग गरिने उनले बताए । अब क्षेत्रीय उडानमा पनि केन्द्रित हुनुपर्ने भन्दै उनले निगमले संघीयताको मर्मअनुसार त्यस्ता क्षेत्रीय विमानस्थलमाट विभिन्न गन्तव्यमा उडान भर्न नयाँ ट्वीनअटर प्रयोग गर्ने बताए । निगमसँग अहिले २ वटा ट्वीनअटरमात्रै छन् । चीनले अनुदानमा दिएको दुईवटा एमए ६० र चार वटा वाई १२ ई विमान निगमका लागि लाभदायी भएका छैनन् ।

बिग्रिएर ग्राउण्डेड भइरहने, उडानका लागि विदेशी पाइलट नै चाहिने लगायतका समस्याका कारण निगमलाई चिनियाँ जहाजहरु ‘घाँडो’ भएका छन् । निगमले ल्याएका नयाँ दुई वाई १२ ई विमान अझै पाइलट अभावका कारण उड्न सकेका छैनन् । यस्तो अवस्थामा निगमले ६ वटा ट्वीनअटर ल्याउन आर्थिक स्रोत जुटाएर टेण्डर गरिहाल्न चाहेको छ ।

उड्डयन अधिकारीको आशंका

पर्यटन मन्त्रालयका अधिकारीहरु भने निगमको यो निर्णय सही नभएको भएको टिप्पणी गरिरहेका छन् । ‘सञ्चालक समितिबाट किन्ने भनेर निर्णय नै नभई आर्थिक स्रोत जुटाउन कसरत भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले दावी गर्दै भने,’पहिले चीनबाट आएको विमान कसरी चलाउने हो भन्ने टुंगो लगाएको भएर राम्रो हुन्थ्यो । नयाँ थप्नेमा मात्रै ध्यान दिँदा आशंका उत्पन्न भएको छ ।’ ती अधिकारीले खरिद प्रक्रिया सुरु नहुँदै ‘ट्वीनअटर’ भनेर ब्राण्ड घोषणा हुनुले पनि आशंका उत्पन्न भएको बताए ।

‘खरिद गरिने विमान स्पेसिफिकेशन तयार गरेर टेण्डर प्रक्रिया पुर्‍याएपछि छनोटका क्रममा उपयुक्त देखिने कम्पनी छानेर मात्रै ब्राण्ड टुंगो लाग्नुपर्ने हो,’ उनी भन्छन्,’सरकारी कम्पनीले निजीले जसैगरी पहिल्यै ट्वीनअटर नै किन्छु भन्नु कानुन विपरित हुन्छ ।’ निगमले भने पारदर्शी रुपमा टेण्डर प्रक्रियाबाट जहाज किन्ने बताएको छ । उसले यसअघि पनि ४ वटा एयरबस ल्याउँदा पनि पहिले नै ब्राण्ड घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *