२०८२ चैत १९ गते | 2nd of April 2026

कट्रीनालाई अरुको तुलनामा सलमानसंग काम गर्न सहज

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते ११:०७

मुम्बई – आफ्नी प्रेमी निकसँगको इंगेजमेन्ट र हलिउडको फिल्ममा नायिकाको प्रस्तावपछि अभिनेत्री प्रियंका चोपडाले छायांकनको केही दिनअघि मात्र फिल्म ‘भारत’ छाडेकी हुन् । सलमान र प्रियंकाको जोडीलाई पर्दामा देख्ने दर्शकको चाहना फेरि टुटेको छ । अब प्रियंकाका ठाउँमा यस फिल्ममा दर्शकले अर्की अभिनेत्री कैटरिना कैफलाई देख्न पाउनेछन् । सलमानसँग फेरि जोडी हुन पाउँदा कैटरिनाले खुसी व्यक्त गरेकी छन् ।

छायांकन सुरु हुन लाग्दा अन्तिम चरणमा किन यो फिल्ममा जोडिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा अभिनेत्री कैटरिनाले मंगलबार राति भोग ब्युटी अवार्ड समारोहमा भनिन्, ‘भारतका निर्देशक अली अब्बास जफर मेरा राम्रा साथी हुन् र उनीसँग मैले पहिला पनि मेरे ब्रदरकी दुलहन र टाइगर जिन्दा हैजस्ता फिल्ममा काम गरिसकेकी छु, उनीसँग मैले काम गरेको फिल्म सफल भएको र भारतको स्क्रिप्ट पनि सशक्त भएकाले म यो फिल्ममा अन्तिम चरणमा भए पनि आबद्ध भएकी हुँ ।’

सलमान खानसँग काम गर्न आफूलाई सजिलो लाग्ने भएकाले पनि भारतमा नायिकाका रूपमा जोडिएको उनले बताइन् । आफूलाई निर्देशक अलीले फोन गरेर यो फिल्ममा प्रस्ताव गरेको र फेरि अलीसँग राम्रो फिल्म खेल्न पाएको पनि यी अभिनेत्रीले बताएकी छन् । आफूलाई दिइएको भूमिका पनि त्यत्तिकै राम्रो भएको कैटरिनाले बताएकी छन् । पर्दामा फिल्म आएपछि दर्शकले भारतजस्तो राम्रो फिल्म खेलेर कैटरिनाले सही काम गरेको प्रतिक्रिया दिने पनि उनले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *