प्रकाश ढकाल/किरण लोहनी
पोखरा, साउन २३ ।
गोरखामा गाउँपालिका र नगरपालिकाको पुर्नगठनको काम सुरु भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले गठन गरेको जिल्ला स्तरीय प्राविधिक सहयोग समितिले जिल्लामा कायम हुन सक्ने प्रश्तावित गाउँ वा नगरपालिका र त्यसको केन्द्र सहितको खाका तयार गरेको छ । आयोगले तोकेको अधिकतम ८ स्थानीय तहको सम्भावित सीमांकन समितिले प्रश्तावका रुपमा तयार गरेको हो । समितिले ६ गाउँपालिका र २ नगरपालिका रहने गरी खाका बनाएको छ ।
जसअन्तर्गत हालकै दुई नगरपालिकामा आसपासका गाविस समायोजन हुनेछन् भने बाँकी गाविसहरु गाउँपालिका अन्तरर्गत रहनेछन् । समितिले प्रश्तुत गरेको खाका अनुसार गोरखा नगरपालिकामा हालका ताप्ले, बुंकोट, बक्राङ र देउराली गाविस समायोजन हुनेछ । उता पालुङटार नगरपालिकामा हर्मी, छोप्राक, खोप्लाङ, धुवाँकोट र मिरकोट गाविस गाभिनेछन् । ६० गाविस रहेको गोरखामा बाँकी ५१ गाविस चाहीँ ६ वटा गाउँपालिकामा बिभाजित हुनेछन् । जनसंख्याको मापदण्डका कारण धेरै गाविसलाई एउटै गाउँपालिकामा समायोजन गर्नुपर्ने बाध्यता रहेको समितिका संयोजक तथा स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिए ।
स्थानीय तहको अधिकतम संख्या निकै कम छ, भूगोलका हिसावले गोरखा निकै ठूलो छ, उनले भने–सीमाभित्रै रहेर पुनर्संरचना गर्दा धेरै गाविस गाभ्नु परेको हो । उनका अनुसार प्रश्तावित खाका अन्तिम भने होईन । खाकामा दुवै नगरपालिकाको केन्द्र साविकमै रहने उल्लेख छ । यस बाहेक समितिले मनकामना र आसपासका ९ गाविस समेटेर ताङलीचोक केन्द्र रहनेगरी माईमनकामना गाउँपालिका बनाउने प्रस्ताव गरेको छ । जसमा ताक्लुङ, घैरुङ, नामजुङ, फुजेल, ताङलीचोक, मकैसिङ, भूम्लीचोक, दर्बुङ र घ्याल्चोक गाविस समावेश हुनेछन् ।
यस्तै बगुुवाको लामाचौर केन्द्र रहने गरि बगुवा सहित पाँचखुवा देउराली, पन्द्रुङ, मसेल, अश्राङ, बोर्लाङ, धावा र तान्द्राङ गाविसलाई समेटेर भिमसेन गाउँपालिका प्रस्ताव गरिएको छ । ताकुकोट, ताकुमाझ लाकुरीबोट, लाप्राक, वारपाक, स्वाँरा र ताकुकोट गाविस समायोजन गरेर सौरपानी केन्द्र हुने गरी राङरुङ गाउँपालिका बनाउन प्राविधिक सहयोग समितिको प्रश्ताव छ । गोरखा क्षेत्र नम्वर २ अन्तर्गतको उत्तरी १० गाविस मिलाएर अजिरकोट गाउँपालिका बनाइने छ । जसमा हंसपुरको भच्चेक केन्द्र रहनेगरी गाँखु, श्रीनाथकोट, जौवारी, मुच्चोक, सिम्जुङ, थालाजुङ, केरावारी, हंसपुर, खरिबोट र घ्याच्चोक गाविस समेटिनेछन् ।
यता हिमालपारीका ७ सहित थप दुई गाविस समेटेर मनासलु गाउँपालिका बन्नेछ । जसमा सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौंजा र उहीया गाविस रहनेछन् । यसको केन्द्र सिर्दिवासको फिलिममा रहने प्रस्ताव छ । यो गाउँपालिकामा जिल्लाको ५० प्रतिशत भूभाग समेटिने छ । प्रमुख ब्यापारिक केन्द्र रहेको आरुघाट क्षेत्रका ८ गाविस मिलाएर आरुघाट गाउँपालिका बन्नेछ । जसमा आरुचनौटे सहित आरुपोखरी, आरुअर्वाङ, थूमी, मान्बु, काशीगाउँ, गुम्दा र लापू गाविस समेटिन्छ भने थुमीको आर्खेत केन्द्र रहनेछ ।
प्रश्तावित खाकामा आईतबार जिल्ला स्थित राजनीतिक दल, पत्रकार, सरोकारवाला लगाएतको उपस्थितीमा छलफल भएको छ । छलफलका सहभागीहरुले प्रश्तावित खाका ब्यवहारिक नभएको टिप्पणी गरे । आधा भन्दा बढी भूभाग हिमाली क्षेत्रमा पर्ने गोरखा जिल्लालाई हिमाली जिल्लामा नसमेट्नु नै दुर्भाग्य हो, उनीहरुले भने–हिमाली जिल्लाको मापदण्ड लागू गरेर स्थानीय तहको संख्या थप गर्नुपर्छ । नेपाली काँग्रेसका सभापति हरि बहादुर घलेले पुनर्संरचना आयोगले पठाएको मापदण्ड नै विवादित भएको बताए । आधा भूभाग एउटै गाउँपालिकामा समायोजन गर्दा पनि जनसंख्या पुग्दैन, यस्तो मापदण्डले गोरखालाई कसरी सुविधा हुन्छ, उनले भने–हिमाली गाविसका बिषयमा छुट्टै निर्णय हुनुपर्छ । अहिले प्रश्तावित मनाशलु गाउँपालिकामा करिब २ हजार बर्ग किलोमिटर भूभाग समेटिने छ भने १२ हजार मात्रै जनसंख्या हुनेछ । आयोगको मापदण्डले पहाडी जिल्लालाई कम्तिमा २५ हजार जनसंख्या हुनुपर्ने ब्यवस्था गरेको छ ।
पुनर्संरचना प्राविधिक सहयोग समितिका सदस्य तथा जिल्ला वन कार्यालयका प्रमुख जीवनाथ पौडेलले पनि गोरखाको हकमा यो मापदण्ड कार्यान्वयन हुन नसक्ने बताए । सन्निकटताको आधारमा एउटा गाउँपालिकाको केन्द्र पुग्न बढीमा ३ घण्टा लाग्छ, उनले भने–तर छेकम्पारको नागरिक सिर्दिबास आउन २ दिन लाग्छ, यो कस्तो न्याय हो ? समितिका संयोजक नारायण आचार्यले गोरखा जिल्ला भौगोलिक रुपमा निकै बिकट भएकाले जनसंख्या भन्दा भूगोललाई आधार मानेर पुनर्संरचना गर्नुपर्ने बताए ।
http://ddcgorkha.gov.np/wp-content/uploads/2016/08/Punarsamrachana-Khaka-of-Gorkha.pdf

SHARE