अमेरिका – राप्रपाका अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री माननीय राजेन्द्र लिङ्गदेन अमेरिकाको भ्रमणमा आउने भएका छन् । प्रवासी नेपाली एकता समाज (पानस)को अधिवेशनको लागि उनी अमेरिका आउन लागेका पानसका अन्तर्राष्ट्रिय अध्यक्ष प्रेम कुमार श्रेष्ठले जनाए ।
श्रेष्ठका अनुसार अमेरिकाको टेक्सास राज्यमा पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको लागि प्रमुख अतिथिको रुपमा लिङ्गदेन आउने भएका हुन् ।
लिङ्गदेन डालासमा अक्टोबर २७ का दिन अवतरण गर्ने कार्यकम रहेको छ । अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिवल)मा प्रमुख आतिथ्यता ग्रहण एवं नेपालीहरू संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी अक्टोबर २९ का दिन ड्यालसको करि लिफ रेस्टुरेन्टमा हुने पानसको अधिवेशनमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसंग साक्षात्कार कार्यक्रम हुनेछ । श्रेष्ठले दिएको जानकारी अनुसार अध्यक्ष लिङ्गदेन अक्टोबर ३१ का दिन ओहायोमा बिश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रम तालिका अनुसार उनले नोभेम्बर २ का दिन वाशिंगटन स्थित नेपाली राजदुताबासको भ्रमण र साक्षात्कार कार्यक्रम तय गरिएको छ ।
त्यसपछि नोभेम्बर ४ का दिन न्यूयोर्कमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण तथा साक्षात्कार कार्यक्रम राखिएको छ । त्यसै गरि नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा प्रमुख आतित्थ्यता ग्रहण एवं साक्षात्कार समेतको आयोजना तय गरिएको पानसका अन्तर्राष्ट्रिय अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
मेरील्याण्डको कार्यक्रम पश्च्यात राप्रपा अध्यक्ष लिङ्गदेन नोभेम्बर ६ का दिन नेपाल प्रस्थान गर्नेछन् ।