प्रकाश ढकाल
पोखरा, असोज ३० ।
विदेशी पर्यटकहरु खचाखच हुने कास्कीको घान्दु्रकमा यो बर्ष गोरा अनुहार खासै देखिएनन् । भूकम्प आउनुभन्दा अघिसम्म विदेशी पर्यटकहरु लहरै हुन्थे । पर्यटन ब्यवसायीलाई पनि भ्याई नभ्याई हुन्थ्यो । राती अबेरसम्म चहलपहल हुने घान्द्रुक अहिले सम्साँझै शुन्य जस्तै हुन्छ । पर्यटकहरु नआएपछि व्यवसायी निकै फुर्सदिला बनेका छन् । अघिल्लो सालसम्म होटलमा बास बस्न आउने टुरिष्टले पहिले नै बुकिङ गर्नुपथ्र्यो, होटलहरु खचाखच हुन्थे, स्थानीय होटल ब्यवसायी जगन बहादुर गुरुङले भने–अहिले त ठ्याप्पै भयो, गोरा अनुहार देख्न पनि मुश्किल छ । घान्द्रुकमा मात्रै होईन यो बर्ष अन्नपूर्ण फेरो पूरै सुनसान जस्तै भयो । भूकम्प र नाकाबन्दीको प्रभावबाट अहिलेसम्म पनि यहाँको पर्यटन ब्यवसाय तंग्रिन सकेको छैन ।
आन्तरिक पर्यटकहरु केही बढेपनि विदेशी पर्यटकहरु निकै कम मात्रै आउने गरेका छन् । एक्यापको तथ्याकंमा अघिल्लो बर्ष ५० हजार पर्यटक मात्रै राउण्ड अन्नपूर्ण पुगेका छन् । यो तथ्याकं सन् २०१४ को तुलनामा झण्डै ३० हजारले कम हो । भूकम्पपछिको एक बर्षमा सार्क राष्ट्रबाट मात्रै ११ हजार ६ सय जना यस क्षेत्रमा पुगेका छन् । जुन अघिल्लो बर्षको तुलनामा झण्डै २ हजारले बढी हो । अघिल्लो बर्ष ९ हजार ७ सय जनाले अन्नपूर्ण क्षेत्र घुमेका थिए । अन्नपूर्ण क्षेत्रमा गतबर्ष अहिलेसम्मकै न्यून पर्यटक भित्रिए, एक्यापका प्रमुख लाल प्रसाद गुरुङले भने–यसले पर्यटन ब्यवसायी त मारमा परेकै छन्, देशकै अर्थतन्त्रमा पनि नराम्रो असर परेको छ । भूकम्प भन्दा नाकाबन्दीका कारण बढी असर परेको उनको अनुमान छ ।
पर्यटक घटेपछि प्रवेश शुल्क मार्फत हुने आम्दानी पनि निकै कम मात्रै संकलन भएको छ । अघिल्लो बर्षको तुलनामा झण्डै ९ करोड रुपैयाँ आम्दानी घटेको आयोजनाका निर्देशक लाल प्रसाद गुरुङले जानकारी दिए । अघिल्लो बर्ष २० करोड ९६ लाख रुपैयाँ आम्दानी भएको यस क्षेत्रबाट यो बर्ष १२ करोड मात्रै संकलन भयो । यस क्षेत्रमा छिर्नुअघि प्रत्येक पर्यटकले एक्यापलाई प्रवेश शुल्क बुझाउनुपर्छ । सार्क राष्ट्रका पर्यटकलाई ५ सय र अन्य मुलुकबाट आएका पर्यटकलाई २ हजार शुल्क लाग्छ । एक्यापले सन् १९९३ बाट यो क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क संकलन गरेयता अहिलेसम्मकै सवार्धिक पर्यटक सन् २०१४ मा भित्रिएका थिए । ०१४ मा १ लाख २९ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । अन्नपूर्ण क्षेत्रका एक दर्जनभन्दा बढी हिमशृंखला, मुस्ताङको लोमान्थाङ, मुस्ताङ्गी कला–संस्कृति, विश्वकै ठूलो क्षेत्रफलमा फैलिएको लालीगुराँसको जंगल, पुनहिलको सूर्योदय, घोरेपानीको बसाइँ, घान्द्रुकको आतिथ्य सत्कार लगायत ग्रामीण रहनसहन नै यहाँको पदयात्राको विशेषता हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कास्की, म्याग्दी, मुस्ताङ, मनाङ र लमजुङ गरी पाँच वटा जिल्लाको ५७ गाविसमा फैलिएको छ ।
एक्याप क्षेत्रमा पर्यटक बढाउनका लागि विभिन्न प्रचारात्मक कार्यक्रम सञ्चालन गरिने एक्यापले जनाएको छ । स्थानीय तहमा गठित संरक्षण समिति मार्फत पनि भत्किएका ट्रयाक मर्मत, नयाँ ट्रयाक पहिचान, प्रचार प्रसार जस्ता कार्यक्रम भैरहेको एक्याप कार्यालय पोखराका सूचना अधिकृत विख्यात शेरचनले बताए । अन्नपूर्ण क्षेत्रमा भूकम्पको कुनै असर छैन, उनले भने–हामीले बेलैमा यो क्षेत्र सुरक्षित छ भनेर अन्तराष्ट्रिय स्तरमा प्रचार गर्न नसकेका हौं, अब यसको प्रचार प्रसारमा बढी केन्द्रित हुनेछौं । यसको प्रचार प्रसारका लागि नेपाल पर्यटन बोर्डले पनि विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

SHARE