प्रकाश ढकाल
पोखरा, माघ ५ ।
फिल्डमार्सल माडिक साले नेपालीको बिरतामाथी एउटा गज्जबको बाक्य बोलेका छन्, ‘कोही सेनाको जवान मृत्युबाट डराउँदिन भन्यो भने ठान्नु या त उ झूट बोलिरहेको छ वा ऊ गोर्खा हो ।’ जुनबेला अंग्रेजले नेपाल विरुद्ध युद्ध लड्दै थियो त्यतिबेला गोर्खालीहरुको ताकत उदयमान थियो । मेसिनरी बन्दुकमाथी खुकुरी नचाउन सक्ने गोर्खालीको असाधारण शाहस देखेर संसारका सर्बशक्तिमानहरु समेत थर्कमान भएको इतिहास छ । तत्कालीन युद्धमा नेपाली पक्षले अनेक हण्डर दिएपनि अंग्रेजको जालोबाट जोगिन भने सकेन । अंग्रेजले नेपाललाई आफ्नो बशमा मात्रै लिएन उल्टै नेपाली जवानहरुलाई आफ्नै सेनामा भर्ति गराएर साम्राज्य विस्तारको गोटी बनायो । सन् १८१४ देखि खुलेको गोर्खा भर्ति पछि हालसम्म लाख भन्दा बढी गोर्खेहरुको मृत्यु युद्धकै बेला भएको छ । यद्यपी यो तथ्य तथ्याकं भने होइन । गेसो भन्छ दोश्रो विश्व युद्धमा मात्रै ६० हजार बढी गोर्खालीको मृत्यु भयो । ब्रिटिशले जुनसुकै देशसँग लड्दा पनि दुष्मनको सबैभन्दा अग्र भागमा गोर्खाली हुन्छन् । यही अग्र भागमा लडेका एक योद्धा हुन् स्याङ्जा टक्सारका पीताम्बर सुवेदी उर्फ पर्त बहादुर खत्री ।
खत्री (९७) खुकुरी नचाएरै बैरीहरुलाई छप्काएका दोश्रो बिश्व युद्धका ज्यूँदा इतिहास हुन् । सन् १९४३ मा ट्युनिसियामा जर्मन र ब्रिटिश सेनाको दोहोरो भिडन्त भयो । त्यसबेला जर्मन सेनालाई उनी एक्लैले हायलकायल पारेका थिए । युद्धमा हतियार सकिएपछि खुकुरीको भरमा बाँच्ने उनी थोरै मध्येका एक हुन् । उनि जन्मिँदा पहिलो विश्व युद्ध उत्तराद्र्धमा थियो । दोश्रो विश्वयुद्ध सुरु हुँदा २२ बर्षका थिए । उनले कहिल्यै सोचेका पनि थिएनन् कि नेपाल भन्दा हजारौं किलोमिटर पर जीवन बाजी राखेर लड्ने कुरा । मालपोत कार्यलय पोखरामा काम गर्दा गर्दै छुट्टी मनाउन घर गएका खत्रीको पाईला पोखरा फर्किएन । उनी गाउँकै भूपू गगनसिंह गुरुङको साथ लागेर सिधै भारतको देहरादुन हान्निए । त्यति बेला दोश्रो विश्व युद्ध भर्खर सुरु भएको थियो । ‘उ बेला त अंग्रेजहरु घरघरमै हामीलाई लिन आउँथ्यो । अलिकति जवान भएपछि अंग्रेजको सिपाही हुनै पथ्र्यो, उनले भने–नेपालमा चित्त बुझ्दो जागिर थिएन । नचाहेपपनि अंग्रेजकै गुलाम हुने चलन थियो ।’ अहिले पुर्खा लाहुरे भएपछि भर्ति हुन सजिलो छ । तर त्यतिबेला लाहुर छिर्न पुर्खासँग सम्बन्ध हुँदैनथ्यो । मात्र थरसँग जोडिन्थ्यो । बाहुन भएपनि थर फेरेर भर्ति हुने चलन थियो । पीताम्बर सुवेदी भर्ति हुनकै लागि पर्त बहादुर खत्री बने ।
खत्रीले १८ बर्षे फौजी जीवनमा साउथ अफ्रिका, जर्मन, इजिप्ट, ट्युनिसिया, अफगानस्तान, सिरिया, इटाली, फ्रान्स, क्रिष्टिया, मलेसिया लगाएतका देशमा लडे । बिश्वयुद्धताका यि सबै देश गोला बारुदले थिलथिलो भएका देश हुन् । तीन सय जनाको कमाण्ड गर्दै निस्केका खत्री ४ बर्षको लडाईँ पछि फर्किँदा एक्लै थिए । ‘सुरुमै मलाई इजिप्टको बसेरा खटाउने हुकुम भयो । इजिप्ट, साउथ अफ्रिका हुँदै हामी ट्युनिसिया तिर लाग्यौं, खत्रीले आँफुले लडेको दोश्रो बिश्व युद्ध सम्झे–ट्युनिसिया नपुग्दै जहाजबाट गोला बारुद खस्न थाल्यो, मेरा संगोलका सबै साथीहरु युद्ध लड्न डराएर देहरादुनबाटै भागेका थिए । मसँगै गएकाहरु पनि कोही ज्युँदो फर्किएनन् । भाग्यले म अहिलेसम्म बाँचिरहेको छु ।’ आफ्नो कमाण्डमा गएका साथीहरु सकिएपछि खत्रीले अर्को प्लाटुनमा मिसिनुपरेको थियो । ‘आँखै अगाडी हजारौं साथीहरु छट्पटाएर पानी मागिरहेका हुन्थे । नचाहेर पनि उनीहरुको छातिमा टेकेर दुष्मनमाथी गोली बर्साउँदै अगाडी बढ्नुपथ्र्यो, भावुक हुँदै उनले थपे–तत्काल उपचार पाएका भए कति साथीहरु बाँच्न सक्थे । तर त्यो सम्भव थिएन ।’
मासिक १६ रुपैयाँमा पल्टने बनेका खत्री अबकाश लिँदासम्म उनको तलव ५ सय रुपैयाँ पुगेको थियो । ‘मालपोतमा जागिर खाँदा ५ रुपैयाँ तलव हुन्थ्यो । पल्टनमा तेब्बर बढी तलव र ४८ रुपैयाँसम्म लडाईँ भत्ता खाएको हुँ, खत्री भन्छन्–७५ रुपैयाँ पेन्सन बढेर अहिले ७० हजार पुग्यो तर उतिबेलाकै ७५ रुपैयाँ मूल्यवान थियो ।’ उनले पेन्सन लिन थालेकै ५६ बर्ष पूरा भयो । आफ्नो ज्यानकै बाजी राखेर लड्दा पनि ब्रिटिश सरकारले गरेको भेदभाव प्रति भने खत्री रुष्ट छन् । ‘छालाका आधारमा तलव तोकिन्थ्यो । एउटै पोष्टमा पनि नेपालीले भन्दा ब्रिटिशले दोब्बर बढी तलव बुझ्थे, उनले थपे–लडाईँ हुँदा गोराहरुलाई ज्यान जोगाउने हतारो हुन्थ्यो । हामी अन्तिम श्वास रहुञ्जेलसम्म युद्ध मैदानमा खुकुरी नचाउथ्यौं ।’ विश्वयुद्ध पछिको १४ बर्ष मलेसियामा मात्रै बिताए खत्रीले । पुर्खाहरुको बहादुरीकै कारण गुर्खा वा गोर्खा ब्रान्ड अन्तर्रािष्ट्रय रूपमा आफैँ स्थापित र परिचित छ । पेन्सन निस्किएपछि खत्रीको दैनिकी खेतबारी र पशु बस्तुसँग खेलेर बित्यो । ब्रिटिश सेनामा भर्ति हुने उनी सुवेदी परिवारकै पहिलो र अन्तिम हुन् । न उनका पुर्खा पल्टने थिए, न उनका सन्तानहरुलाई पल्टने पेशाले तान्यो । उनको ४ छोरा र ५ छोरी छन् । खत्री अहिले निमोनियाका कारण थलिएका छन् ।

SHARE