२०८१ वैशाख १६ गते | 28th of April 2024

स्रष्टालाई सम्मान र पुरस्कार

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १० गते १६:१०

काठमान्डौं – नेपाल स्रष्टा समाजले योगमाया न्यौपानेको स्मृतिमा स्थापित पुरस्कारबाट दुई स्रष्टालाई पुरस्कृत तथा एक जनालाई सम्मान गरेको छ । नेपाली साहित्य, इतिहास र संस्कृतिको प्रवद्र्धन र विकासमा योगदान पुर्याउने इतिहासविद् ज्ञानमणि नेपाललाई ‘योगमाया अभियन्ता राष्ट्रिय सम्मान– २०७५’ र साहित्यकार नीलम कार्की ‘निहारिका’ लाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान–२०७४’ बाट पुरस्कृत गरिएको हो । 

पुरस्कृतमध्ये नेपाललाई रु २० हजार १११ र निहारिकालाई रु २५ हजार १११ नगदसहित प्रशंसापत्र रहेको छ । यस्तै सामाजिक अभियन्ता हिरण्यप्रसाद भण्डारीलाई ‘योगमाया विशेष सम्मान’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार वितरण गर्दै योगमायाले महिला सशक्तीकरणका क्षेत्रमा गरेको योगदानको प्रंशसा गरे ।

तत्कालीन समाजमा निरंकुशताविरुद्धको संघर्ष गरेर समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका निर्वाह गरेकाले योगमायालाई राज्यले सम्मान गर्नुपर्नेमा उनले जोड दिए । योगमाया सामाजिक आन्दोलन अभियानका संयोजक जयन्ती राईले अहिले पनि समाजमा जातीय, क्षेत्रीय र सांस्कृतिक विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।

समाजका अध्यक्ष पवन आलोकले योगमायाको अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले समाजले स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताए । पुरस्कृतद्वय नेपाल र निहारिकाले सामाजिक कुप्रथाविरुद्ध महिला सशक्तीकरणमा योगमायाको योगदानको व्याख्या गरेकी थिइन् ।

न्यौपाने बन्धु सेवा समाजका अध्यक्ष दयाकृष्ण न्यौपानेले योगमायाका विषयमा थप खोज तथा अनुसन्धान गरिनुपर्ने धारणा व्यक्त गरे । विसं १९२५ मा भोजपुरको नेपालेडाँड–सिम्लेमा जन्मिएकी योगमायाले सामाजिक कुरीति र बेथितिका विरुद्ध विद्रोह गरेकी थिइन् ।उनले विसं १९९८ असार २२ गते तत्कालीन निरंकुश राणा शासनका विरुद्ध आफ्ना ६८ अनुयायी शिष्यसहित अरुण नदीमा समाधि लिएकी थिइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *