काठमाडौं, असार १२ गते । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज राजधानीमा “न्युयोर्कका नेपाली कवि र कविता“ कृतिको लोकार्पण सम्पन्न भएको छ । ब्याकुल पाठक र किशन सिंह धामीले सम्पादन गर्नुभएको कृतिको तारा–किशन फाउण्डेसनले प्रकाशन गरेको हो । कृतिमा न्यूयोर्क निवासी ४८ जना नेपाली कविका कविताहरू समावेश छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो ।राष्ट्र र भाषाको पहिचान स्थापित गर्न यस कृतिले सहयोग पुर्याएको प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो ।
नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनका लागि स्थापना भएको सङ्घले यसरी देशविदेशबाट प्रकाशित साहित्यिक कृतिहरूको लोकार्पण र विभिन्न क्षेत्रमा सम्मान, पुरस्कार वितरण, काव्यिक यात्रालगायतका कार्य गर्दै आएको सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
लोकार्पण गरिएको कृतिका विषयमा साहित्यकार दामोदर पुडासैनी किशोर र समालोचक शान्तिमाया गिरीले समालोचकीय मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सङ्घका महासचिव पुष्पा खनालले स्वागत मन्तव्य राख्नुभएको थियो । जानुका ढकाल (अमेरिका), साहित्यकार यादव भट्टराई, र शङ्कर सिंह धामीले पनि आ–आफ्नो मन्तब्य राख्नुभएको थियो । साथै “न्युयोर्कका नेपाली कवि र कविता“ भित्रबाट केहि कविताहरु वाचन गरिएका थिए ।
कार्यक्रममा डा. गार्गी शर्मा, पारस नेपाल, विमल भौकाजी, सन्ध्या पहाडी, रमेश पौडेल, धर्म बराल, राजेन्द्र के. सी., सुमन बर्षा, रञ्जना निरौला, सरु सुवेदी, निर्मल पराजुली, रवि धामी आदिको उपस्थिति रहेको थियो ।
दार्चुलाका वादी समुदायलाई सहयोग
सोही कार्यक्रममा तारा–किसन फाउण्डेसनबाट सङ्कलित एक लाख पाँच हजार रकम दार्चुलाका अल्पसङ्ख्यक गरीव समुदायलाई सहयोग गर्न पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष शङ्कर सिंह धामीलाई न्युयोर्कबाट आउनु भएका राजेन्द्र ढकालले हस्तान्तरण गर्नुभएको थियो । सो रकमबाट शैखशिखर गाउँपालिकामा बसोबास गर्दै आएका अल्पसङ्ख्यक वादी समुदायलाई खाद्यान्न वितरण गरिने धामीले बताउनुभयो । 