२०७७ जेठ २४ गते । नेपाल स्रष्टा समाजद्वारा आज पाल्पा विशेष अनलाइन साहित्यिक गोष्ठी आयोजना गरियो ।
गोष्ठीमा ११ पाल्पाली स्रष्टा र आयोजक संस्थाका अध्यक्ष र महासचिव गरी १३ स्रष्टाले आआफ्ना रचना वाचन गर्नुभएको थियो । गोष्ठीमा कविता, गीत, गजल, मुक्तक, हाइकु तथा लघुकथा वाचन गरिएका थिए ।
गोष्ठीमा सहभागी हुँदै टङ्कप्रसाद पन्थले नेतृत्व जागा बन शीर्षकको कविता सुनाउनुभएको थियो भने कवि पुरुषोत्तम अर्यालले खै बुद्धको लुम्बिनी र लक्षीमा ज्ञवालीले ईश्वरको चिठी मान्छेलाई तथा भावना खनालले सीमा सुरक्षा गर शीर्षकका छन्दोबद्ध कविता सुनाउनु भएको थियो । संयोग, सबै कविता शार्दूलविक्रीडित छन्दमा लेखिएका थिए ।
पाल्पाली स्रष्टाहरू रामप्रसाद अर्याल र कृष्णा भण्डारी कँडेलले मुक्तक वाचन गर्नुभएको सो गोष्ठीमा आर.बी. निश्चलले अस्तित्व तथा अर्का स्रष्टा महेन्द्र पन्थीले पूजा त केवल मूर्तिको हुन्छ शीर्षकका गद्य कविता वाचन गर्नुभएको थियो ।
शकुन्तला घिमिरेले सुन्दर गजल सुनाउनु भएको गोष्ठीमा पाल्पाका अर्का साहित्यकार पुष्करराज रेग्मीले समयलाई लिएर लेखिएका हाइकुहरू सुनाउनुभएको थियो भने अर्का पाल्पाली स्रष्टा विनोद नेपालले बजेट शीर्षकको लघुकथा वाचन गर्नुभएको थियो ।
आयोजक संस्था, नेपाल स्रष्टा समाजका महासचिव पुष्पा खनालले विधाताले लेखेको टर्छ कसरी गीत सुनाउनु भयो भने अध्यक्ष विधान आचार्यले सीमासम्बन्धी विषयलाई लिएर लेखिएको आफ्नो ताजा छन्दोबद्ध कविता कालीवारि सरक्क छोड का दुइटा श्लोक र तानसेन शीर्षकको साढे तीन दशकअघि लेखिएको गद्य कविता वाचन गर्नुभएको थियो ।
वाचन गरिएका रचनाहरूमा राष्ट्रप्रेम, सीमासम्बन्धी चिन्ता, कोरोना कहर, मानवीय मूल्यप्रतिको खबरदारी र समसामयिक परिवेश अभिव्यक्त गरिएका थिए । रचनाको दृष्टिले गोष्ठी विविधतायुक्त थियो ।
****
विनोद नेपाल