२०८१ वैशाख २१ गते | 3rd of May 2024

२१० स्थानीय तहमा एकैचोटी राष्ट्रिय सडक सञ्जालसँग जोडिने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १ गते १४:५०

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशिक एवम् स्थानीय तहको सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार  शुभारम्भ गर्नुभएको छ । कार्यक्रमले स्थानीय तह प्रादेशिक राजधानी एवम् राष्ट्रिय सडक सञ्जालसँग जोडिने छन् । प्रादेशिक एवम् स्थानीय तहको सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले सात प्रदेशका २१० स्थानीय तहमा एकैचोटी कार्यक्रम शुभारम्भ भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले सडक सञ्जाल विस्तारमा सरकारले महत्वपूर्ण काम गरेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वीच अन गरी सो कार्यक्रमको शुभारम्भ गर्नुभयो । वर्तमान सरकार बनेपछि तीनवर्षे अवधिमा दुई, तीन, चार र छ लेनको सडक निर्माणमा तीव्रता दिएको उहाँले बताउनुभयो ।

सडकको स्तरोन्नति, नयाँ निर्माण, विस्तार तथा सडक सँगसँगै पुलहरुको निर्माणमा उपलब्धि भएको बताउनुभयो । सडक पक्का र सुरक्षित बनाउने काम सरकारले गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि हुँदा बढी दुर्घटना हुने गरेकाले नयाँ सडकहरु त्रुटिरहित निर्माण भइरहेको प्रष्ट पार्नुभयो । बाटो आफैं सुरक्षित छैन भने यात्रुलाई कसरी सुरक्षित राख्ला ? जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताको जीवनको रक्षा होस् भन्नेमा सरकारले ध्यान दिएको छ, त्यसलाई केन्द्र भागमा राखेर काम गरिरहेको छ ।” ३९२ ठाउँबाट पक्की सडकको आवेदन आए पनि तत्काललाई २१० स्थानीय तहमा काम शुभारम्भ भएको र बाँकी ठाउँको छानबिनको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *