२०८१ वैशाख २२ गते | 4th of May 2024

अमेरिकी विदेशमन्त्री दक्षिण कोरियामा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ४ गते १४:५९

सियोल- अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल पुग्नु भएको छ । चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ । उहाँहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नुहुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदीयमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ ।
उहाँहरुले यसअघि जापानको भ्रमण गर्नुभएको थियो । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो ।टोकियोबाट सियोल प्रस्थान गर्नुअघि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले देशभित्र बढी दमन र विदेशमा तीब्रताका साथ विस्तार हुने चाहना चीनले राखेको आरोप लगाउनुभयो । उहाँले पूर्व तथा दक्षिण चीन सागरदेखि ताइवानमाथि चीनले जबर्जस्ती गर्न खोजिरहेको बताउनुभयो ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नुपरेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गर्नुभएको छ । अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उहाँहरुले उत्तर कोरियालाई पूर्णआणविक निरस्त्रीकरणका लागि आग्रह गर्नुभएको छ ।
उहाँहरुले उत्तर कोरियाली आणविक हातहतियार अन्तरराष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताउनुभएको छ । विदेशमन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहनुभएन । उहाँले भन्नुभयो, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *