काठमाडौँ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ ।
गत वर्षहरुमा ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर अघिल्लो वर्ष र यसपाली भने त्यस्ता ठूला कार्यक्रम भने हुन सकेन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ ।
काठमाडौँका उपत्यकाका विभिन्न क्षेत्रमा घुम्दा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ ।प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार यसपाली कोभिड–१९ जोखिमका कारण अहिलेसम्म मुलुकभर नै रौनक कम देखिएको र शान्ति सुरक्षामा खलल हुने कुनै गतिविधि नभएको जानकारी प्राप्त भएको बताउनुभयो ।