२०८१ वैशाख २२ गते | 4th of May 2024

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २२ गते १४:४३

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त गरेको छ। स्थापनाको २५ बर्षसम्म भारतीय नागरिकलाई प्रमुख कार्यकारी बनाएको एभरेष्ट बैंकले सुदेश खालिङलाई नियुक्त गरेको हो। नेपालमा खासै काम गर्न नसकेको भन्दै एभरेष्ट सञ्चालक समितिले भारतीय मुलका प्रमुख कार्यकारीलाई १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको छ। चार बर्षका लागि नियुक्त भएका गजेन्द्रकुमार नेगी शुक्रबारसम्म बैंक नेतृत्वमा रहने छन्। प्रमुख कार्यकारी नियुक्त बारे एभरेष्टले राष्ट्र बैंकलाई मौखिक जानकारी गराइसकेको छ।

एभरेष्टले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरेको थियो। एभरेष्टमा पञ्जाबको २० प्रतिशत लगानी छ।अब नेपाली प्रमुख कार्यकारी नियुक्त गर्न दुई बैंक मात्र बाँकी छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल एसबीआइ बैंकमा अहिले पनि बिदेशी प्रमुख कार्यकारी अधिकृत छन्। नबिलले पनि बिदेशी नै नियुक्त गर्ने गरेकोमा पछिल्लो १२ बर्षयता नेपाली राख्न थालेको छ। एभरेष्टमा सुदेश खालिङ प्रमुख कार्यकारी नियुक्त हुने भएपछि उनले १५ दिनअघि नै सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा गरिसकेका छन्। सिटिजन्सले उनको राजीनामा सार्वजनिक गरिसकेको छैन।

खालिङलाई तत्कालै एभरेष्ट बैंकको ब्यवस्थापन हेर्न राष्ट्र बैंकको निर्देशनले रोक्छ। उनलाई ६ महिनाको कुलिङ पिरियड लाग्ने छ। यदि राष्ट्र बैंकले रत्नराज बज्राचार्यलाई जस्तै ‘वेभर’ दिने भयो भने मात्र उनी एभरेष्ट बैंक तत्कालै ‘लिड’ गर्ने छन्। ६५ बर्षभन्दा बढि उमेरको ब्यक्ति प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन नपाउने ब्यवस्था छ। तैपनि राष्ट्र बैंकले बज्राचार्यलाई छेकवार गरेको थिएन। खालिङलाई पनि छेकवार नगर्ने पक्षमा राष्ट्र बैंक छ। पुरानो नेतृत्वले कुलिङलगायतका ब्यवस्था गरेकाले नयाँ ब्यवस्थापनले त्यसमा लचकता अपनाउने राष्ट्र बैंक स्रोतको दाबी छ। नभए खालिङ ६ महिनापछि एभरेष्ट जाने छन्। त्यतिन्जेल बरिष्ठमध्येबाट एक जनालाई प्रमुख कार्यकारी बनाउने बैंकको योजना रहेको छ।

खालिङ परिचित बैंकर हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *