२०८१ वैशाख २६ गते | 8th of May 2024

पर्वतारोहणका लागि हालसम्म चार सयभन्दा बढीले अनुमति लिए

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ३० गते १२:२८

काठमाडौँ- वसन्तयामको पर्वतारोहणका लागि हालसम्म चार सयभन्दा बढीले अनुमति लिएका छन् । अनुमति प्रदान गर्ने पर्यटन विभागका अनुसार शुक्रबारसम्म विभिन्न हिमाल आरोहणका लागि ४९ वटा आरोहण दलका ४१९ जनाले अनुमति पाएका छन् । अनुमति पाउनेमा ९० जना महिला र बाँकी ३२९ जना पुरुष छन् ।
विभागले अहिलेसम्म दसवटा हिमालका लागि आरोहण अनुमति उपलब्ध गराएको छ । सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि २६ वटा आरोहण दलका २६६ जनाले अनुमति पाएका छन् । जसमध्ये ५१ जना महिला र १९३ जना पुरुष छन् । सगरमाथा आरोहणको अनुमतिबापत विभागले ३० करोड ८६ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ ।
सगरमाथापछि ल्होत्से हिमाल आरोहणका लागि ५५ जनाले अनुमति पाएका छन् । उक्त हिमालका लागि शुक्रबारसम्म सातवटा आरोहण दलका ११ जना महिला र ४४ जना पुरुषले अनुमति पाएका छन् । ल्होत्से हिमालको आरोहण अनुमतिबापत विभागले एक करोड १५ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ ।
अन्नपूर्ण हिमाल आरोहणका लागि चारवटा आरोहण दलका ४४ जनाले अनुमति पाएका छन् । त्यसपछि धौलागिरि हिमालका लागि चारवटा आरोहण दलका ३० जनाले अनुमति पाएको विभागले जनाएको छ । न्हुप्त्से हिमाल आरोहणका लागि तीनवटा आरोहण दलबाट २३ जनाले अनुमति पाएका छन् ।
विभागले यसबाहेक मकालु, तिलिचो, पुमोरी, मनास्लु र टुकुचे हिमालका लागि पनि आरोहण अनुमति जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *