२०८१ वैशाख २२ गते | 4th of May 2024

 इजरायलमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौंको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १७ गते ९:०२

जेरूसेलम-  इजरायलमा एक लाख बढी मानिस सहभागी भएको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ। उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिएको हो। दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन्। भेला भएकाहरूले रातभरि आगो बालेर नाचगान गर्ने चलन छ।

यसपालिको कार्यक्रममा १ लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भवनको छानो खसेर भागदौड मच्चिएको बताइए पनि एकिन कारण पत्ता लागेको छैन। स्थानीय सञ्चारमाध्यमहरूले भागदौडमा कम्तीमा ३८ जना मानिसको ज्यान गएको र सयौं घाइते भएको बताएका छन् तर अधिकारीहरूले मृत्यु हुनेको आधिकारिक संख्या जानकारी गराएका छैनन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई ‘ठूलो क्षति’ भनेका छन्।

कोरोनाभाइरसको महामारीका कारण गत वर्ष उक्त कार्यक्रममाथि प्रतिबन्ध लगाइएको थियो। यसपालि इजरायलका ५० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरूद्धको पूर्ण खोप लगाइसकिएको र संक्रमण घटेका कारण सरकारले कार्यक्रम गर्न अनुमति दिएको थियो। कोरोना भाइरसको महामारी सुरू भएपछि इजरायलमा यति धेरै मानिस जमघट भएको यो पहिलो कार्यक्रम थियो। यसअघि बिहीबार प्रहरीले अधिकारीहरूलाई कार्यक्रममा काम गर्न अवरोध गर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *