२०८१ वैशाख २२ गते | 4th of May 2024

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २९ गते १३:४५
    काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ (३) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । २६ वैशाखमा पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिनुभएको थियो । ३ दिनको समय सीमा आज सकिदा बहुमतको सरकार बन्न नसकेपछि प्रदेश सभाको सबैभन्दा ठुलो दल एमाले संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री बन्नुभएको हो ।
तीन दिनको अवधिमा बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि जनमोर्चाका सांसदले साथ नदिएपछि उहाँ सफल हुन सक्नु भएन । उहाँलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै नहुँदा नेपाली मुख्यमन्त्री बन्न असफल हुनुभयो । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले साथ नदिएपछि काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन नसक्नुभएको हो । आजै मुख्यमन्त्रीको शपथ खाने तयारी गर्नुभएका गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *