२०८१ वैशाख २१ गते | 3rd of May 2024

अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच पहिलो पटक टेलिफोनमा कुराकानी

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १३ गते १४:२२

बेइजिङ- संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ ।
दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ । वार्तामा सहभागी दुबै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले वार्ता प्रक्रिया शुरु हुन्छ भन्ने कुनै सङ्केत दिएका छैनन् ।
अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले व्यापार सम्बन्धका बारेमा “आन्तरिक समीक्षा” अझै जारी रहेको बताउनु भएको उहाँको कार्यालयले जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले चिनियाँ व्यापार प्रतिनिधि एवं उपप्रधानमन्त्री लिउ हे ले समान चासोका विविध विषय उठाउनुभएको बताएको छ, तर विस्तृत विवरण भने दिएको छैन । राष्ट्रपति बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध शुरु गर्न भएको व्यापार द्वन्द्वका बारेमा के कस्तो रणनीति अपनाउने भन्ने बारेमा अझै केही बताउनुभएको छैन । ट्रम्पले चीनको औद्योगिक नीति र व्यापार असन्तुलन बढेको भन्दै चीनबाट आयात हुने सामानमा करवृद्धि गर्नु भएको थियो । त्यसको प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी सोयाबिन खरिद स्थगन गर्नुका साथै अन्य सामानमा करवृद्धि गरेको थियो ।
सन् २०२० को शुरुदेखि कोरोनाभाइरस महामारी फैलिनु अघिदेखि नै मध्यस्थकर्ताहरुबीच प्रत्यक्ष भेटवार्ता भएका छैनन् । द्वन्द्व सामान्यीकरण गर्ने अभिप्रायले सन् २०१९ देखि दुबै देशबीच भएको पहिलो चरणको सम्झौता बमोजिम तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी हुने गरेको छ ।
पहिलो चरणको सम्झौतामा एकअर्का मुलुकका सामानमा थप करवृद्धि नगर्ने र कतिपय सामानमाथि लागेका करहरु हटाउने सहमति भएको थियो । चीनले अमेरिकी सोयाबिनको खरिद बढाउने र अन्य सामानको आयात बढाउने प्रतिबद्धता जनाएको थियो ।
कोरोनाभाइरस महामारीका कारण विश्व व्यापारमा प्रभाव पारेसँगै चीनले अमेरिकी बस्तु तथा सेवाको खरिदमा ढिलाई गरेको छ । यसैबीच, चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनका उपप्रधानमन्त्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाई बीच बिहीबार बिहान टेलिफोनमा वार्ता भएको जनाएको छ ।
दुबै पक्षबीच समानता र आपसी सम्मानको भावना अनुरुप खुला, व्यवहारिक र रचनात्मक रुपमा वार्ता भएको छ । साथै दुबै पक्षले वार्तामा आआफ्ना चासो र सरोकारका विषय उठाएको र आगामी दिनमा निकट सञ्चार सम्पर्क स्थापित गर्ने सहमति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *