लण्डन – ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरेका छन्। सो विवाह शनिवार अपराह्न एउटा सानो समारोहमा भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयको एक प्रवक्ताले अर्को वर्ष प्रधानमन्त्री दम्प तीले परिवार र साथीहरूसँग विवाहको उत्सव मनाउने बताए। जोनसन २०० वर्षभन्दा लामो समयपछि ब्रिटिश प्रधानमन्त्रीको पदमा रहँदा विवाह गर्ने पहिलो व्यक्ति बनेका छन्। खोपमन्त्री नदीम जाहावीले यसलाई गजबको समाचार भन्दै बधाई दिएका छन्। उनले स्काई न्यूजलाई आफूलाई निमन्त्रणा नआएको बताए। यो जोनसनको तेस्रो विवाह हो। रोमन क्याथोलिक चर्चले पहिलेका विवाह आफ्नो गिर्जाघरमा नभएको भए पारपाचुके गरेका व्यक्तिलाई विवाह गर्ने अनुमति दिन्छ। पहिले नै कुरा छिनिसकिएको उनीहरूको शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको कयौँ पत्रपत्रिकाहरूले लेखेका छन्। काम र निर्वित्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्विट गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन्। द मेल पत्रिकाले आइतवार लेखेको समाचारमा ३० अतिथिहरूलाई निकै छोटो समय दिएर निम्ता गरिएको जनाइएको छ।इङ्ग्ल्याण्डमा लगाइएका कोभिडका प्रतिबन्धका कारण त्यो उक्त समारोहमा सहभागी हुन पाउने अधिकतम सङ्ख्या हो। क्याथोलिक परम्परा अनुसार भएको विवाहको तयारीमा समेत गिर्जाघरका निकै कम कर्मचारीहरू सहभागी भएको उक्त पत्रिकाले जनाएको छ।द सन पत्रिकाले डाउनिङ स्ट्रीटका वरिष्ठ सहयोगीहरूलाई उक्त विवाहबारे थाहा नभएको जनाएको छ। उसले थप भनेको छ: “ब्रिटिश समय अनुसार दिउँसोको साढे १ बजेपछि सर्वसाधारणहरूलाई वेस्टमिनस्टर गिर्जाघर छाड्न भनिएको थियो।” त्यसको एक घण्टापछि ३३ वर्षीया साइमण्ड्स सेतो पहिरनमा ५६ वर्षीय प्रधानमन्त्रीसँग वैवाहिक प्रतिज्ञा साट्नका लागि एउटा विलासी कारमा गिर्जाघर पुगेकी थिइन्।
शनिवार राति सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएको तस्बिरहरू खिचिएका छन्।
सन् २०१९ को सुरुतिर सञ्चारमाध्यमहरूले साइमण्ड्स र जोनसनको प्रेम सम्बन्धबारे लेखेका थिए। साइमण्ड्सले सन् २०१० देखि सन् २०१८ सम्म जोनसनको दलको प्रेस कार्यालयमा काम गरेकी थिइन्। गत वर्ष फेब्रुअरीमा उनीहरूले आफूहरूको स्वयंवर भएको र साइमण्ड्स गर्भवती रहेको खुलाएका थिए। उनीहरूले छोरो विलफ्रिड गत एप्रिलमा जन्मिएका थिए।