काठमाडौं – क्यानाडामा अप्रत्याशित रुपमा बृद्धि भएको तापक्रमपछि दर्जनौं ब्यक्तिको मृत्यु भएको छ । भ्यानकुभरका प्रहरी अधिकारीहरुले गत् शुक्रबारयता १३० जनाको अचानक मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामा अधिकांश बृद्ध र स्वास्थ्यका अन्य समस्याबाट ग्रसितहरू थिए । थुप्रै मृत्युको घटनामा उच्च तापक्रमले भूमिका खेलेको प्रहरी अधिकारीहरुले बताएका छन् । भ्यानकुभरका ६५ जनाको मृत्युको कारणमा उच्च तापक्रम प्रमुख भूमिका खेलेको छ ।
बीबीसीका अनुसार मङ्गलबार क्यानाडामा लगातार तेस्रो दिन १२१ फहरेन्हाइट(४९.५ डिग्री सेल्सियस) तापक्रम मापन गरिएको छ । यसअघि क्यानाडाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन । उत्तरी पश्चिमी अमेरिका र क्यानाडामा उच्च चापीय वायु चलेको छ । बर्नबेमा ३४ र सर्रे क्षेत्रमा ३८ जनाले ज्यान गुमाएका छन् । प्रहरी अधिकारी स्टिभ एडिन्सनले भ्यानकुभरले यसप्रकारको अनुभब यसअघि कहिले नगरेको बताउनुभयो । घरबाहिर निस्किन कठिन भएको स्थानीयलाई उद्धृत गर्दै बीबीसीसले उल्लेख गरेको छ ।