२०८१ वैशाख २५ गते | 7th of May 2024

कोभिड-१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको प्रस्ताव चीनद्दारा अस्वीकार

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ७ गते १५:३९

    काठमाडौ –  कोभिड-१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको प्रस्ताव चीनले अस्वीकार गरेको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेका थिए। चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले “सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान” गरेको टिप्पणी गरेका छन्।

उक्त योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै जङले त्यसलाई चीनले स्वीकार्न नसक्ने बताए। सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस फैलिन सुरु भएको वुहान सहरमा यस वर्ष ज्यानुअरीमा बल्ल डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगेको थियो।  त्यतिबेला उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुन सक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो। यद्यपि त्यस्तो मान्यता अहिले पनि विद्यमान छ। यो महिनाको आरम्भमा डा. टेड्रोसले डब्ल्यूएचओले गर्ने दोस्रो चरणको अनुसन्धानबारे बोलेका थिए। उनले कोरोनाभाइरस पहिलो पटक देखा परेको क्षेत्रका वैज्ञानिक अनुसन्धान संस्थाहरूको परीक्षण गर्ने प्रस्ताव गरेका थिए। बेइजिङलाई अनुसन्धानकर्ताहरूसँग “पारदर्शी हुन तथा खुला अनि सहयोगी बन्न” आग्रह गर्दै डा. टेड्रोसले बिरामीबारे अप्रशोधित तथ्याङ्क उपलब्ध गराउन आग्रह पनि गरेका थिए। चीनले पहिलो चरणको अनुसन्धानका बेला त्यस्तो तथ्याङ्क दिएको थिएन। बिहीवार एउटा पत्रकार सम्मेलनमा बोल्दै जङले डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै त्यो प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लङ्घन गरिएको दाबीमा केन्द्रित भएको बताए।  चीनले त्यस्ता सर्तहरू मान्न “असम्भव” भएको भन्दै जङले आफ्नो देशले कोरोनाभाइरस उत्पत्ति पत्ता लगाउने सन्दर्भमा छुट्टै विवरण बुझाएको बताए।

“डब्ल्यूएचओले चिनियाँ विज्ञहरूको विचार र सुझावको गम्भीर समीक्षा गर्छ अनि कोभिड-१९ गराउने भाइरसको उत्पत्तिलाई वैज्ञानिक विषयका रूपमा हेर्छ तथा राजनीतिक हस्तक्षेपबाट मुक्त हुन्छ भन्ने हाम्रो अपेक्षा छ ,” समाचारसंस्था रोएटर्सले उनलाई उद्धृत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *