२०८१ वैशाख १९ गते | 1st of May 2024

तालिबानसँग पनि मिलेर काम गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सँकेत

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ५ गते १२:२८

लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानसँग पनि मिलेर काम गर्ने बताएका छन् । उनले भने, “म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ । हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले अफगानिस्तानको समस्याको समाधान खोज्ने हो र हामी त्यसका लागि लागिपरेका पनि छौँ ।”उनले अगाडि भने, “यदि, अफगानिस्तानमा शान्ति स्थापना हुन्छ या त्यहाँको अवस्थामा सुधार आएर समस्या समाधान हुन्छ भने हामीले तालिबान समूहसँग पनि मिलेर काम गर्न सक्छौँ ।”

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानको विमानस्थलमा आफ्नो देश फर्किन चाहने नागरिकको भिडभाड हट्दै गएको र तालिबानले पनि यसमा सामान्यतया अवरोध नगरेको देखिएको उनले बताए । जसका कारण अफगानिस्तानको अवस्था विस्तारै सामान्य हुँदै गएको जस्तो देखिएको उनले बताए । तालिबान लडाकुले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए र यही अगस्त १५ मा राजधानी काबुल आएर सत्ताकब्जा गरेका छन् । सुरुमा विभिन्न बाहिरी प्रान्त कब्जा गर्दै आएका तालिबान लडाकुको पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे । यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । तालिबानको तीव्र विस्तारका बाबजुत पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको या नसकेको भन्ने बारेमा पनि अहिले विश्वव्यापी बहस भइरहेको छ । हाल विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका छन् । यसै क्रममा बेलायतले पनि गएको आइतबारयता कम्तीमा दुई हजार आफ्ना नागरिकलाई फिर्ता लगिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *