काठमाडौं ७ साउन । केएल दुगढ ग्रुपको बाँकेमा रहेको गोदाममा आगलागीको खबर प्रकाशन गर्दागर्दै मोरङको विराटनगरमा रहेको मकालु ट्राइकोट उद्योगमा आगलागी भएको खबर प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार शनिबार दिउँसो ४ बजेतिर अचानक मेसिनबाट उत्पन्न भएको आगो नियन्त्रण बाहिर गइ उद्योगमा आगलागी भएको हो । आगो नियन्त्रणमा लिन राजविराज, मोरङ र सुनसरीका ६ वटा दमकल परिचालित छन्।
उद्योगमा कपडा सम्बन्धी धागो, स्वेटरलगायत उत्पादन हुन्छ। उद्योग भएको स्थानलाई पहिले शाह उद्योग, बटन फ्याक्ट्री लगायतका नामले पनि चिनिन्थ्यो। मकालु ट्राइकोट उद्योग औद्योगिक घराना गोल्यान ग्रुपको हो।
उक्त पश्मिना उद्योग पूर्व क्षेत्रीय प्रहरी कार्यालय, तालिम केन्द्र रानी र शसस्त्र प्रहरी गणदेखि पाँच सय मिटरको दुरीमा छ। आगलागी भइरहेको स्थलदेखि करिब ५ सय मिटर दुरीमा नेपालकै सबैभन्दा ठूलो विराटनगर आँखा अस्पताल रहेको छ। क्षतिको विवरण नआइसकेको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए।