२०८१ वैशाख २२ गते | 4th of May 2024

अमेरिकी राष्ट्रपति जो बाइडनले दिए आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १४ गते १३:१६

    काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएका छन्। यसैबीच रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि ‘आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको’ बताएको छ। युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।

अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग बिहीवार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका हुन्। “राष्ट्रपति बाइडेनले रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्,” ह्वाइट हाउस न्याशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन्। “राष्ट्रपतिबाट यो कुरा सार्वजनिक रूपमा व्यक्त भइसकेको छ र हामीले पनि महिनौँदेखि यस्तै चेतावनी दिँदै आएका हौँ।”  ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले “यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त” पारेको जनाइएको छ।

जेलेन्सकीले आफूहरुले “तनाव घटाउने पछिल्ला प्रयत्नहरूबारे छलफल गरेको र भविष्यका लागि संयुक्त कारवाहीबारे सहमत बनेको” बताएका छन्।  युक्रेनमा हिउँ जमेपछि बलिया युद्ध सवारीसाधनहरू गुडाउने प्रतीक्षामा रहेको केही सैन्यविद्‌ ठान्छन्। शुक्रवार फ्रान्सका राष्ट्रपति एम्मानुअल माक्रोँ र भ्लादिमिर पुटिनबीच अर्को महत्त्वपूर्ण फोन वार्ता हुनेछ। यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो।

बिबिसी