काठमाडौं २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङमा म्याग्दी खोलाको बाढीका कारण विद्यालयसहितको क्षेत्र जोखिममा परेको छ। गएराती खोलामा एक्कासी पानीको बहाव बढेपछि जनप्रिय माविको भवन, खेलकुद मैदानका साथै नजिकैको बजारक्षेत्र पनि कटान भैरहेको जानकारी प्राप्त भएको छ ।
बुधबार दिउँसोदेखि भैरहेको वर्षाको कारण राती करिब ९ बजेतिर एक्कासी खोलामा पानीको बाहव बढेपछि दरवाङ कटानको चपेटामा परेको हो। नदीमा अझै बहाव बढिरहेकोले थप क्षति हुनसक्ने भन्दै स्थानीयवासीले तत्काल नै तटबन्ध लगायत रक्षात्मक पूर्वाधार तयार गर्न माग गरेका छन्। दरवाङ र देविस्थानको फेदी आसपासका क्षेत्रमा नदी साँघुरिएर बगेको कारण बढी क्षति हुने गरेको छ।
साथै पहिरोका कारण सवारीसाधनहरु पूर्ण रुपमा रोकिएका छन् भने पैदलमार्ग समेत हिड्नै नसक्ने गरि पुरिएको छ। मंगला गाउँपालिका वडा नं। ५ अर्मनको हाँडेभीरमा म्याग्दी खोलाले एक घर भत्काएको छ। पटक–पटक नदीले कटान हुने गरेको उक्त स्थानमा गएराति पानीको बहाव अत्याधिक बढेपछि स्थानीय हरिप्रसाद पौडेलको घर भत्किएको हो। म्याग्दी खोलाकै कटानका कारण अर्मनकै किमचौरमा पहिरोले १५ घरधुरी उच्च जोखिममा परेको मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाले जानकारी दिए।