चितवन १४ भदौ । तास खेल्दै गरेको सुचना पाएपछि तास खेल्दै गरेको स्थानमा ,पुगेका प्रहरीमाथि खुकुरी प्रहार भएको छ । तास खेल्दै गरेको सूचना पाएपछि नारायणगढको पोखरा बसपार्कमा डिउटी गर्न पुगेका प्रहरी जवान ताराप्रसाद पोखरेलमाथि आज खुकुरी प्रहार भएको हो। दिउँसो २ः४० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर–१ स्थित पोखरा बसपार्कको सुकुम्बासी बस्तीमा तास खेल्ने जुवाडेहरुलाइ पक्राउ गर्ने क्रममा पोखरेलमाथि भरतपुर २ क्षेत्रपुर बस्ने ३० वर्षीय दिलिप सुनारले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनको टाउको र गर्दन नजिकै चोट लागेको र अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरी नियन्त्रण कक्षले जनाएको छ। उनको अवस्था सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ।
खुकुरी प्रहार गर्ने सुनारलाई पक्राउ गरिएको जनाइएको छ। अन्य तीन जना भने भागेको र उनीहरुको खोजी भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ।