पोखरा, चैत ४ ।
कास्कीको उत्तरपूर्वी गाउँपालिका मादीको कार्यालय शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले कार्यालय उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँपालिकाहरु अधिकारसम्पन्न भएकाले त्यसको उपयोग गर्नुपर्नेमा जोड दिए । ढकालले सबै गाउँपालिकाको आफ्नै विशेषता भएको भन्दै त्यसलाई परिचालन गरेर समृद्ध बनाउन सके अधिकार प्रत्यायोजनले सार्थकता पाउने बताए । ‘सरकार खोज्न काठमाण्डौं जानु पर्दैन । तपाईँकै आगनमा सरकार आईपुगेको छ, उनले भने–सरकारलाई धेरै काम लाउनुस् । काठमाण्डौंमा तिर्ने कर दस्तुर तिर्नुस् र विकासका काममा खर्च गर्नुस्, त्यसै समृद्ध हुनेछ ।’
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीभन्दा माथी उठेर आफ्नो भूगोलको समृद्धीका लागि काम गर्नुपर्ने बताए । उनले मादी गाउँपालिका भूगोलका हिसावले केही बिग्रिएपनि श्रोत साधनमा निकै बलियो भएकाले त्यसको परिचालनमा ध्यान दिन आग्रह गरे । केसीले तोकिएकै मितिमा चुनावको वातावरण सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि तयार हुन स्थानीय नेता कार्यकर्तालाई सुझाए । नेकपा एमालेका प्रदेश सदस्य बेद बहादुर गुरुङ श्यामले विकाससँग नजिक रहेका प्रतिनिधीलाई नेतृत्वमा पठाउनुपर्ने बताए । उनले प्रचुर सम्भावना भएको गाउँपालिका भएकाले भिजन र मिसन भएको ब्यक्तिले मात्रै गाउँपालिकाको नेतृत्व सम्हाल्न सक्ने र समृद्धीतर्फ उन्मुख हुने बताए ।
नेकपा माओबादी केन्द्रका रुद्र रानाभाट, राप्रपाका नारायण गुरुङ, नेपाली काँग्रेस थुमाकोडाँडाका अध्यक्ष देवीजंग गुरुङ, एमालेका क्षेत्रीय सचिव बालकृष्ण गुरुङ, माओबादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर गुरुङ लगाएतले देश नयाँ युगमा प्रबेश गरेकाले त्यसको संस्थागतमा जोड दिनुपर्ने बताए । उनीहरुले सामान्य विवादमा रुमलिनु भन्दा चुनाव पछि सहमती गरेर मिलाउन सकिने भएकाले चुनावका लागि तयार हुन आग्रह गरे । गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत रवीमोहन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा १२ नम्बर वडाका सचिव डिल्लिराम गिरीले स्वागत गरेका थिए भने साविक थुमाकोडाँडा गाविसका सहायक बलराम सापकोटाले सञ्चालन गरेका थिए ।
५ सय ६३ बर्गकिलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिका कास्कीकै सबैभन्दा ठूला स्थानीय तह हो । यसको जनसंख्या १८ हजार १ सय ५१ छ भने साविक थुमाकोडाँडा गाविसलाई तत्कालका लागि गाउँपालिकाको केन्द्र तोकेर कामको थालनी गरिएको छ । यो गाउँपालिकामा मिजुरेडाँडा, भाचोक, सैमराङ, थुमाकोडाँडा, नामार्जुङ, पार्चे, सिल्दुजुरे, कालिका गाविसका ६ देखि ९ नम्बर वडा, माझठाना गाविसका २ र ३ तथा हंसपुर गाविसका ५ र ८ नम्बर वडा समेटिएका छन् । यसमा १२ वटा वडा कायम गरिएको छ ।