काठमाडौं १७ मंसिर । मनमौजी पाराका बलिउडमा ‘हिम्यान’ भनेर चिनिने धर्मेन्द्रले एक टेलिभिजनसँगको अन्तर्वार्तामा बलिउडलाई खुलेर निशाना बनाएका छन् । उनले अहिले बलिउड इन्डस्ट्री ‘सब्जी मंडी’ बनेको बताएका छन् । उनले अहिले कलाकारले पैसाका लागि जस्तो पनि सौदाबाजी गर्ने गरेको बताउँछन् ।
८२ वर्षीय सिनियर कलाकार धर्मेन्द्रले पैसाको लोभले गर्दा आजभोलि कलाकारिता मर्दै गइरहेको बताएका छन् । धर्मेन्द्रले भने, ‘आजभोलि बलिउड उद्योग‘सब्जी मंडी’ बनेको छ । जहाँ तपाईँ तरकारी किन्नुहुन्छ, बेच्नुहुन्छ । सौदाबाजी गर्नुहुनछ । त्यस्तै कलाकारहरु पनि पैसाका लागि जहाँ पनि नाचिरहेका छन्, जहाँ पनि गाइरहेका छन् । अहिले कलाकारले पैसाका लागि जे पनि गर्न तयार भएका छन् । अहिले पैसा नै सबैथोक भएको छ । हाम्रो जमानामा त्यस्तो थिएन ।’
आफ्नो फिल्मी करिअरमा ३०० भन्दा बडी चलचित्रमा काम गरेका धर्मेन्द्रले ‘फूल और पत्थर’, ‘शोले’, ‘यादोँ की बारात’, ‘मेरा गांव मेरा देश’ तथा ‘चुपके चुपके’ जस्ता चर्चित चलचित्रमा दमदार अभिनय गरेका छन् । कैयौँ हिट चलचित्रका बाबजुद पनि उनले बेस्ट एक्टरको फिल्मफेयर अवार्ड पाएका छैनन् ।