२०८१ साउन ११ गते | 26th of July 2024

डेरा पाएनन सांसदहरुले

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २३ गते २०:५४

सुर्खेत – पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाएका छैनन्।

उनलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ। गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिए।

‘सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरेँ, अहिले लोकप्रिय होटेलमा बसेकी छु। यहाँको बारेमा मलाई केही थाहा छैन। चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन’, उनले भने,’साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु २० हजार भनेपछि लिन गाह्रो भयो।’

बढी पैसा तिरेर सुर्खेतमा झर्नुपर्दाको पीडा त छँदैछ, त्यसमा झन भाडामा बस्दा ढाड सेकिन्छ। जनप्रतिनिधि भइसकेपछि जनताका थुप्रै आशा छन् तर आशा पूरा गर्न बसाइँ व्यवस्थापन गर्न सकिएको छैन। अहिलेसम्म आफूसँग आउने पार्टी कार्यकर्ता र शुभचिन्तकलाई होटेलमा नै राख्दै आएको उनले बताए।

त्यस्तै जाजरकोट प्रदेश (ख) बाट निर्वाचित नेकपा (एमाले)का सांसद करवीर शाही प्रदेशसभा भवन नजिको बस्ती इत्राम क्षेत्रमा कोठा भाडा खोज्न गए। त्यहाँ सबै घर भाडामा बस्ने मान्छेले भरिभराउ थिए। उनका लागि एकाध घरमा कोठा पाइए तर भाडा सोध्दा सोचेको भन्दा दोब्बर थियो। रु १० हजारसम्म अनुमान गरेको कोठाका लागि रु १८ देखि २६ हजार भाडा भनेको सुन्दा उनी केही नभनेर लुसुक्क फर्किए।

‘अहिले साथीभाइलाई कोठा खोज्न पठाएको छु र मैले पनि खोजिरहेको छु, मिल्दो भाडा र उपयुक्त कोठा पाइएको छैनु’, सांसद शाहीले भने। संसद् भवन नजिक कोठा नपाएपछि केही समयका लागि होटेलमा बसिरहेको उनले बताए।
सुर्खेत अस्थायी राजधानी तोकिएपछि कोठा पाउन गाह्रो र भाडामा चरम महँगी भएको उनकाे भनाइ छ। कोठा नपाउँदा एक महिनामा तिर्ने भाडा होेटेलमा एक हप्तामै तिर्नु परेको उनले गुनासाे गरे।

यस्तै रुकुम प्रदेश (ख) का सांसद गोपाल शर्मा पनि अहिलेसम्म होटेलमै बसेका छन्। उनले पनि संसद् भवन नजिकै कोठा खाेजिरहेका छन्। राष्ट्रियसभाको निर्वाचनपछि मात्र बसाइँ व्यवस्थापन हुने सांसद शर्माको भनाइ छ।

डोल्पा (ख) का प्रदेश सांसद बीरबहादुर शाही पनि होटेलब बास बसिरहेका छन्। राष्ट्रियसभाको चुनाव र संसद्को कामले गर्दा आफन्तको सहयोगमा कोठा खोजिरहेको उनले बताए। चिसो मौसममा सुर्खेत झर्ने अधिकांश डोल्पाका जनतालाई सेवा दिइरहनुपर्दा र डेरा नहुँदा होटेल खर्च बढेको उनले बताए।

अस्थायी राजधानी तोकिनु पूर्व सुर्खेतमा सामान्य कोठा भाडादर भए पनि अहिले भने भाडादर ह्वात्तै बढेको सांसद शाहीले सुनाए। जनप्रतिनिधिका हैसियतले उनीहरुको माग सम्बोधन गर्नैपर्ने भएकाले व्ययभार थेग्न कठिन हुने प्रदेश सांसदहरुको भनाइ छ।

उनीहरू चारजना मात्र होइन प्रदेश नं ६ का अधिकांश सांसद्को अवस्था उस्तै देखिन्छ। डेरा नपाउनेहरू कोही आफन्तकहाँ त कोही होटेलमा बस्दै अाएका छन्। तुलनात्मक रुपले काठमाडौँभन्दा सुर्खेतमा खाद्य वस्तुबाहेक अन्य चिजको मूल्य बढेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *