“पदकका लागि खेल्छौं“

0
494

पोखरा, माघ १३ ।
दक्षिण एशियाली खेलकुदमा सहभागी हुने ह्याण्डबलका खेलाडीहरुलाई पोखरामा बन्द प्रशिक्षण गराईएको छ । पोखराको मालेपाटन स्थित शसस्त्र प्रहरीको खेल मैदानमा उनीहरुलाई प्रशिक्षण दिईएको हो । Handball Logoहाम्रो तयारी निकै राम्रो छ, प्रशिक्षण पनि सोही अनुसार भैरहेको छ, ह्याण्डबलका अध्यक्ष तेज गुरुङले भने–बिदेशबाटै प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण दिईरहेका छौं, हामी यो बर्ष पदकका लागि खेल्छौं । दक्षिण एशियामा ह्याण्डबल परम्परागत शैलिबाट चलिरहेको भन्दै यो बर्ष नेपालले यूरोपियन शैलिमा खेल प्रदर्शन गर्न लागेको उनले बताए । प्रतियोगिताका लागि विभागिय नेपाली सेना र सशस्त्र प्रहरीका खेलाडी मात्रै छनौट गरिएको गुरुङले जानकारी दिए ।
प्रशिक्षणमा सहभागी खेलाडीहरुले पनि विगतको भन्दा राम्रो प्रशिक्षण भएकाले उपाधी जित्ने विश्वास ब्यक्त गरेका छन् । अन्य क्षेत्रमा प्रशिक्षण हुँदा वातावरण नै मिल्दैनथ्यो, ह्याण्डबल पुरुष टीमका कप्तान अमर श्रेष्ठले भने–पोखराको मौसम प्रशिक्षणका लागि अनुकुल छ, खेलाडीको स्तरीयता पनि बढेको छ, केही कमजोरी सुधार्नु जरुरी छ, हामी त्यसैको तयारीमा छौं । यस्तै महिला टिमकी कप्तान रञ्जना राईले पनि तयारी राम्रो भएकाले उपाधी जित्ने बताईन् । हामीसँग अन्तराष्ट्रिय खेलको अनुभव पनि छ, तयारी निकै बलियो छ, उनी भन्छिन्–इण्डोर प्रशिक्षण भएको छैन, त्यो पनि पाए झनै सहज हुने थियो । मुख्य प्रशिक्षक फ्रेन्च नागरिक लाउरेन वारेण्डले पनि कम्तिमा सेमीफाईनल समिकरण पूरा गर्नेगरि प्रतियोगितामा सहभागी हुने बताए ।
नेपाली टोलीको फिजिकल पक्ष निकै राम्रो छ, उनले भने–टेक्नीकल सपोर्ट मैले गरिरहेको छु, बाँकी रहेको समय अभ्यासमा बढी केन्द्रित हुनेछौं । उनी दोश्रो पटक १ महिनाका लागि ह्याण्डबलको प्रशिक्षकको रुपमा नेपाल आएका हुन् । यसअघिसम्म ह्याण्डबलतर्फ पुरुषको मात्रै प्रतियोगिता हुँदै आएकोमा यो बर्ष पहिलोपटक महिलातर्फको प्रतियोगिता पनि समाबेश हुन लागेको हो ।
मंगलबार पोखरामा एक कार्यक्रमका बीच भूपू खेलाडी मञ्चका अध्यक्ष खड्क रानाभाटले प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सफलताको शुभकामना दिए । भारतको प्रतिशोध अब खेलमार्फत फिर्ता गर्नुपर्छ, उनले भने–देशका लागि खेल्नुस्, जीत हाम्रो पोल्टामा पर्छ । कार्यक्रममा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले खेलमार्फत राष्ट्रको पहिचान हुने भएकाले देशलाई काँधमा राखेर खेल्न खेलाडीसँग अनुरोध गरे । फेब्रुअरी १२ देखि १६ सम्म चल्ने ह्याण्डबल प्रतियोगिताका लागि नेपाली खेलाडीहरु फेब्रुअरी ८ तारिखका दिन त्यसतर्फ लाग्नेछन् । प्रशिक्षणका लागि महिला र पुरुषतर्फ १४÷१४ खेलाडी सहभागी छन् भने २÷२ जना प्रशिक्षक तथा १÷१ जना म्यानेजर समेत पोखरामा छन् । पोखरामा ह्याण्डबल सहित उस्सु, बक्सीङ र आर्चरीको बन्द प्रशिक्षण समेत भैरहेको छ ।

SHARE