काठमाडौं – चीन सन् २०२८ सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले देखाएको छ । कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रलाई नै दिर्घकालिन असर पुर्याएको भनिएको बेला बेलायती थिङ्क ट्याङ्क सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सिइबिआर) ले चीनले प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्ने प्रक्षेपण गरेको हो ।
कोरोनाका कारण सिर्जित परिस्थितिलाई चीनले प्रभावकारी ढङ्गले सम्हालेको तर पश्चिमा मुलुकले त्यसो गर्न नसकेका कारण हालको दोस्रो ठूलो अर्थतन्त्रले विश्वकै ठूलोमा रुपान्तरण हुने अनुमान गरिएको हो । यसअघिको प्रक्षेपणका अनुसार चीन सन् २०३४ मा मात्रै विश्वको ठूलो अर्थतन्त्र बन्ने बताइएको थियो । सीइबीआरका अनुसार चीनले सन् २०२१ देखि २५ सम्म ५.७ प्रतिशत र २०२६ देखि ३० सम्म ४.५ प्रतिशतको आर्थिक बृद्धिदर (सरदरमा) हासिल गर्नेछ । उता अमेरिकाको आर्थिक बृद्धिदर सन् २०२२ देखि २०२४ सम्म १.९ प्रतिशतमा सीमित हुने देखिन्छ भने त्यसपछिका वर्षमा घटेर १.६ प्रतिशत पुग्नेछ ।
हाल विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानले भने सन् २०३० दशकको सुरुवाती वर्षहरू सम्ममा मात्र आफ्नो स्थान सुरक्षित राख्न सक्नेछ । त्यसपछि, जापानलाई भारतले उछिन्ने र जर्मनी विश्वको पाँचौ ठूलो अर्थतन्त्रमा सिमित हुने सिइबिआरको भनाइ छ । त्यसैगरी, हाल पाँचौ ठूलो अर्थतन्त्र रहेको बेलायत सन् २०२४ मा छैठौंमा झर्ने बताईएको छ ।