काठमाडौं- लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत चौधरी ग्रुप इन्टरनेट सेवाप्रदायकका रुपमा आइएसपी बजारमा छिरेको छ । चौधरी ग्रुपले सिजी नेटमार्फत् काठमाडौं उपत्यकाबाट इन्टरनेट सेवा सुरु गरेको छ। लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत सिजीले इन्टरनेट सेवा प्रदायकका रूपमा भने मंगलबारबाट सेवा सुरु गरेको हो।
ललितपुरको जावलाखेल वरपरका उपभोक्ताहरुले तत्काल सेवा प्रयोग गर्न सक्ने सिजी नेटका कस्टमर एक्सपेरियन्स म्यानेजमेन्ट प्रमुख गणेश क्षेत्रीले जानकारी दिए। केही समयभित्रै उपभोक्ताहरुले देशैभर सेवा पाउने गरी कम्पनीले तयारी गरिरहेको उनले बताए। सिजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ। यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध गराएको छ। आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा जडान गर्न सक्ने बताइएको छ।कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप-वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नु नपर्ने जनाएको छ। सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ।
एक महिने प्याकमा एकपटक तिर्नुपर्ने गरी सिंगल ब्याण्ड राउटरको २५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।