काठमाडौं- उद्योग व्यवसायीहरुले कोभिड विरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्। बिहीबार निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना तथा बधाई दिन गएका व्यवसायीले कोभिड महामारीको समयमा खाद्यान्न लगायत अत्यावश्यकीय वस्तु आपुर्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिड विरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन्।
महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको बताए। ‘अहिलेको विषम परिस्थितिमा निजी क्षेत्र आपुर्ति व्यवस्थापनमा लागेका छन्। उनीहरुले पनि खोपमा प्राथमिकता पाउनुपर्छ भनेर हामीले राख्यौं। यसबाहेक अहिले अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपर प्रस्तुत ग¥यौं’, उनले भने, ‘त्यसमा सकारात्मक रेस्पोन्स पनि आयो। त्यसको लागि अर्थमन्त्रीलाई पनि भेटेर प्रस्तुत गर्नु भन्ने निर्देशन पनि दिनुभयो।व्यवसायीहरुले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटी सफल कार्यकालको शुभकामना दिँदै वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए।