२०८१ साउन १२ गते | 27th of July 2024

माछा काण्डमा मुछिएका चितवनका सिडियोले मागे माफी

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २२ गते १४:३५

काठमाडौ  –  चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मुछिएको माछाको मूल्य विवादमा सहमति भएको छ।  बिहीबार प्रजिअ तामाङ, भरतपुरकी मेयर रेनु दाहाल र सरोकारवालाहरूको बैठकमा प्रजिअ तामाङले आफूबाट गल्ती भएको भन्दै आत्मआलोचना गरेका थिए।  ‘उहाँले म त्यहाँ सिडिओको रूपमा नभई एउटा ग्राहकको रूपमा गएको थिएँ। मबाट कमजोरी भएको हो, त्यसका लागि म आत्मआलोचना गर्छु भन्नुभयो,’ नेपाल मत्स्य वसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङले भने,‘तपाईंहरूका लागि सिडिओ कार्यालयको ढोका सधैँ खुला छ भनेपछि कुरा मिल्यो।’  सरोकारवालाहरूको बैठकले स्वस्थकर तथा बिक्री कक्षको मापदण्ड तयार गरी कार्यान्वयन अघि बढाउनेलगायत ६ वटा निर्णय पनि भएका छन्।

गत आइतबार एक महिला सरकारी गाडी चढेर पश्चिम चितवनको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपाल फार्ममा माछा किन्न पुगिन्। त्यहाँको पोखरीका माछा भरतपुरमा पसलमै सानो पोखरी तयार पारेर जिउँदो माछा राखेर बिक्री गर्ने चितवन फिस हाउसका लुलाराज तामाङले खरिद गरिसकेका थिए। ग्राहक फार्ममै आइसकेपछि सञ्चालक खगेन्द्र सुवेदीले बिक्री भइसकेका माछा मध्येबाट केही झिकेर ती महिलालाई दिने भए। तामाङको सहमतिमा सुवेदीले केही माछा झिकेर काट्न कर्मचारीलाई अह्राए। माछाको मूल्य प्रतिकिलो तीन सय रुपैयाँ लिइयो।

महिलाले अघिल्लो पटक २ सय ५० रुपैयाँमा दिइएको भन्दै मूल्य घटाउन दबाब दिइन् तर मूल्य घटाउन व्यवसायी तयार भएनन्। उनी तीन सय रुपैयाँका दरले पैसा बुझाएर माछा लिएर हिँडिन्। तामाङ पनि बाँकी माछा लिएर पसल आए। साँझ पसलमा बसेर काम गरिरहेका बेला प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसहित भरतपुरको रिजाल चोकस्थित चितवन फिस हाउस पुग्यो।

‘सिडिओसाब त महँगोमा माछा बिक्री गरेर कालोबजारी गरेको भन्दै एक्कासी जंगिन थाल्नुभयो। मलाई तथानाम गाली गर्न थाल्नुभयो,’ तामाङले भने, ‘दिउँसो मेरो गाडीबाट माछा झिकेर दिएकी महिला उहाँकी श्रीमती हुनुहुँदो रहेछ।’ प्रजिअ अस्मान तामाङको नेतृत्वमा साँझ ६ बजेतिर पुगेको टोलीले तामाङको फिस हाउसका दुईवटा फ्रिजहरु सिल गर्‍यो। त्यहाँ रहेका केही माछाको गुणस्तर जाँच गर्न भन्दै लिएर गयो। ‘म त भारतबाट ताजा देखाउन फर्मालिन हालेर माछा बेच्न यहाँ ल्याउँछन् तिनको प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ, बिक्री गर्न दिनुहुँदैन भनेर वर्षौंदेखि आन्दोलनको नेतृत्व गर्दै आएको मान्छे हो। मेरो पसलमा भएका जेसुकै समानको परीक्षण गरियोस् यसमा आपत्ती छैन,’ व्यवसायी लुलाराज तामाङले भने, ‘तर सिडिओ साबको शैली ठीक भएन। व्यक्तिगत स्वार्थका लागि व्यवसायीलाई तथानाम गाली गर्न पाईंदैन।’

उनले यो घटनाले प्रशासन भारतबाट गुणस्तरहीन माछा आयात गर्नेहरूसँग मिलेको देखिएको दाबी गरे। तामाङले माछा पोखरीबाट थोक मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँमा खरिद गरेर ३ सय ८० देखि ४ सय रुपैयाँसम्ममा काटेर बिक्री गर्ने गरेको बताए। ‘मैले चाहेको भए किनेर गाडीमा हालिसकेको माछा सिडिओकी श्रीमतीलाई पनि ३ सय ८० मै बिक्री गर्न सक्थें। तर खगेन्द्रजीले पनि भन्नुभयो भनेर सस्तोमै दिएर आएँ,’ उनले भने, ‘उहाँलाई २ सय ४० रुपैयाँमै चाहिएको रहेछ।’ माछाको बिक्री मूल्य नेपाल मत्स्य व्यवसायी संघले तोक्ने गर्छ। संघले प्रतिकिलो माछाको मूल्य ४ सय रुपैयाँ तोकेको केही वर्ष भयो। व्यवसायीहरूले उक्त मूल्य समायोजन नभएको धेरै समय भएको भन्दै समायोजन गर्न संघलाई दबाब दिँदै आएका छन्। तर संघले केही समय पर्खन भनेको छ। माछा व्यवसायी तामाङले संघको कुरालाई मानेर मूल्य नबढाई बिक्री गर्दा प्रशासनले दुर्व्यवहार गरेको बताए।

नेपाल मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहेका खगेन्द्र सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीले पठाएको भन्दै यसअघि पनि केही प्रहरी उनको पोखरीमा माछा किन्न पुगेका थिए। ‘हामीले खुद्रामा बेच्ने मूल्य नै ३ सय हो, उनीहरूलाई त्यही भन्यौं। उनीहरूले सिडिओले पठाएको हो २ सयमा देऊ भनेछन्। कर्मचारीहरू बर्दी देखेर डराएछन्, बढी विवाद गर्नुभन्दा २ सय ४० रुपैयाँमा लैजानु भनेर दिएछन्,’ सुवेदीले भने, ‘पछि आउँदा पनि त्यही मूल्य खोज्नुभएको होला, दिन सकिएन।’ उनले गत मंसिरमा चितवनलाई माछामा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि पटक-पटक प्रशासन कार्यालय पुगेर भारतबाट आएका माछाहरूको फर्मालिन जाँच गर्न माग गरिए पनि प्रशासनले त्यसतर्फ कहिल्यै ध्यान नदिएको बताए।

-सेतोपाटी