२०८१ साउन १२ गते | 27th of July 2024

कैलालीमा काँग्रेसका उम्मेदवारको ओइरो, २४३ जना आकांक्षी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १९ गते १६:११

धनगढी, १९ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ ।

नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम आज केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपतिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीमध्ये एक महिलासहित तीन÷तीन जनाको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएकोमा आकांक्षी बढी भएपछि सबैको नाम सिफारिस गर्नुपरेको काँग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले बताए ।

काँग्रेसले प्रधानमन्त्रीका पत्नी डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

यो क्षेत्रमा डा राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाको समेत नाम सिफारिस गरिएको छ ।

यस्तै प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ बाट सांसदद्वय ईश्वरी न्यौपाने र बुद्धिसागर चौधरी, नारायणदत्त मिश्र र डा रणबहादुर रावलसहित आठ जना, क्षेत्र नं २ बाट कमल शाह, मानबहादुर महतो र हेमबहादुर रावल, क्षेत्र नं ३ बाट गोविन्दराज जोशी, खेमराज चौधरी, मोहनराज मल्ल र पर्शुराम चौधरी, क्षेत्र नं ४ बाट डा लक्ष्मीराज पाठक, प्रकाश बम, सुनीलकुमार भण्डारी र हीरादत्त भट्टसहित पाँच जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट पूर्वसांसद गंगाबहादुर कुँवर, जंगबहादुर साउद, फकिरसिं कडायत, लक्ष्मण न्यौपाने, धर्मराज न्यौपानेलगायत १४ जना क्षेत्र नं २ बाट लोकबहादुर महतो, जनक बम, देवानन्द जैशी, दलवीर साउद, उत्तम जोशी, लब शाही, कृष्ण पाण्डेसहित २० जना, क्षेत्र नं ३ बाट रामचरण चौधरी, दिपकराज जोशी, भीम बडुवाल, वीरबहादुर हमालसहित १५ जना, क्षेत्र नं ४ बाट पदमराज भट्ट, वीरेन्द्र भट्ट, शेरबहादुर देउवा, भोजबहादुर बम, रामबहादुर कलेल, दिनेश जोशी, यज्ञराज चौधरी र वीरबहादुर हमालसहित १६ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं ५ बाट काँग्रेसका जिल्ला सभापति नरनारायण शाह, आनन्दराज जोशी, नारायण भट्ट, हरिश खड्का, कृष्णबहादुर महरा, जीवन राना, गणेश देउवा, क्षितिज भण्डारी, केशव मिश्रसहित २२ जनाको नाम केन्द्रमा पठाइएको छ ।

 

काठमाडौँ, १९ असोज । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ ।

छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा ती मुलुकको स्वार्थ र नेपालको स्वार्थ विषयमा प्रष्ट पार्नुभएको थियो । सबै राजदूतले ती मुलुकले नेपालमा शान्ति र स्थायित्व होस् तथा नेपालका कारण आफूहरूलाई सुरक्षा धम्की नरहोस् भन्ने चाहेको जानकारी दिए ।

छलफलमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल विगतमा भनिए जस्तो दुई ढुंगाको तरुल नभई अब दुई समृद्ध ठूला देशको बीचमा रहेको एउटा हीरा भएको विचार व्यक्त गर्दै आर्थिक समृद्धि नै अहिलेको मुख्य विषय भएको बताउनुभयो । परराष्ट्रमन्त्री महराले भने, “हामी सबै छिमेकीलाई मित्र बनाउन चाहन्छौँ, कसैको दुश्मन बन्न चाहँदैनौँ, हामी राष्ट्रिय स्वार्थका लागि सबैसँग सहयोग लिएर समृद्ध मुलुक बनाउन चाहन्छौँ ।”
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले राष्ट्रिय स्वार्थका लागि विश्वसनीय तरिकाले परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताए । उनले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को नीति अवलम्वन गर्न नहुने बताए । बैठकमा उनले प्रधानमन्त्रीको सन्देशसमेत पढेर सुनाएका थिए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थका लागि हुनुपर्छ, दलीय स्वार्थका लागि होइन भने । पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, डा रामशरण महत, सुजाता कोइराला र महेन्द्रबहादुर पाण्डेले मुलुकको आर्थिक समृद्धि नभएसम्म अन्तर्राष्ट्रिय रुपमा प्रभाव र विश्वास बढाउन नसकिने बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । उनीहरूले दुवै छिमेकीलाई उत्तिकै महत्व दिएर राष्ट्रिय स्वार्थका साथ परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताए ।

भारतका लागि नेपाली राजदूत उपाध्यायले विभिन्न विषयमा नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यथार्थ, वस्तुपरक र आपसी हितका विषयलाई प्राथमिकता दिएर दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन जरुरी रहेको बताउँदै परराष्ट्र मामिलामा सबै राजनीतिक दल एकमत हुनुपर्ने बताए ।

चीनका लागि नेपाली राजदूत पौड्यालले नेपालले चीनको प्रगतिबाट पाठ सिकेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउँदै आन्तरिक विषयलाई समाधान गर्दै चीनलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
अमेरिकाका लागि नेपाली राजदूत डा कार्कीले अमेरिका नेपालको प्रजातन्त्र र समृद्धिका पक्षमा निरन्तर सहयोग गर्न तयार रहेको आफूले पाएको बताए । समितिका सभापति जुठबहादुर खड्गीले चरणबद्ध छलफलपछि आएको निष्कर्षलाई सरकारसमक्ष पेश गरिने जानकारी दिए । छलफलमा समितिका सदस्य, परराष्ट्र विज्ञलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *