काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकाे साधारण सदस्यसमेत नरहनेगरी रञ्जिता श्रेष्ठ अध्यक्षबाट बर्खास्त भएकी छिन् । नाउपाको संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेको हो ।
पार्टीको अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावले बहुमत सदस्यहरू सहभागी भएको भेलाले पारित गरेको हो । अर्को अध्यक्ष बनाउने विषयमा भोलि छलफल हुने भएको छ । विवादित अडियो प्रकरणमा मुछिएपछि अध्यक्ष रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएकी थिइन् । त्यसलगत्तै रेशम पक्षधरको बुहमत संस्थापक केन्द्रीय सदस्यको बैठकले अध्यक्ष रञ्जिताप्रति खेद प्रकट गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष रञ्जिताले भने भेलाको कुनै औचित्य नरहेको बताउँदै आएकी छन् । उनले रेशम पक्षले गरेको भेलालाई अवैधानिक दाबी गर्दै आएकी छन् ।