२०८१ साउन ११ गते | 26th of July 2024

बेनी अस्पतालमै गरिन्छ चिकित्सा क्षेत्रकै जटिल शल्यक्रिया

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते ४:०८

म्याग्दी, १७ कात्तिक । मंगला गाउँपालिका बरंजाकी ३० वर्षीया एक युवतीको पाठेघरभित्र र बाहिर दुवै स्थानमा गर्भ बस्यो । तीन वर्षअगाडि विवाह गरेकी उनको पहिलो गर्भ खेर गएको थियो ।

स्थानीय स्वास्थ्य चौकी र बेनी अस्पतालमा गर्भ जाँच गर्न आएकी ती युवतीलाई पहिलो गर्भ खेर गएपनि दोस्रो पटकको गर्भ बसेको चिकित्सकले बताएपछि फुरुङ्ग हुँदै घर फर्किइन् तर उनको उत्साह लामो समयसम्म टिक्न सकेन । पाठेघर भित्रको बच्चा दोस्रो पटक पनि खेर गएपछि उनी र उनका श्रीमान् निराश भए । दुई पटकसम्म बच्चा खेर गएपछि घरायसी काममा व्यस्त हुन थाले । बच्चा खेर गएपछि उनी बेलाबेलामा बिरामी हुने गरेकी थिइन् ।

तीन दिनदेखि दाहिने कोखमा अत्यधिक पीडा हुन थालेपछि उपचारका लागि बेनी अस्पतालको इमरजेन्सीमा भर्ना भएकी उनलाई स्वास्थ्यकर्मीले एपेन्डिक्स हुनसक्ने भन्दै डा धिरेन मल्ललाई सिफारिश गरे ।

भिडियो एक्स–रेका क्रममा पाठेघरबाहिर १३ हप्ताको गर्भ ९एक्टोपिक प्रिग्नेन्सी० भेटिएपछि डा मल्लसमेत चकित पर्नुभयो । पाठेघरबाहिर नफुटेको अवस्थामा रहेको गर्भ भेटिएपछि तत्कालै चिकित्सकको टोली इमरजेन्सी बैठक बसेर सफल शल्यक्रिया गर्न सफल भए । “पाठेघरबाहिर बच्चा हुर्किरहेको थियो । बिरामीको ज्यान जोगाउनसमेत शल्यक्रियाको विकल्प थिएन”, डा मल्लले भने ।

डा मल्लका अनुसार विगतमा समेत पाठेघरबाहिर फेलोपाइन ट्यूबमा १३ हप्ताको बच्चा फुटेपछि आन्तरिक रुपमा अत्यधिक रगत बगेको अवस्थामा अस्पतालमा आएकी एक बिरामीको सफल उपचार भएको थियो ।

डा मल्लले भन्नुभयो, “१३ हप्तासम्म जीवित अवस्थामा पाठेघरबाहिर बसेको बच्चा भेटिनु चिकित्सा क्षेत्रमै दुर्लभ कुरा हो ।” पाठेघरबाहिर बच्चा भेटिएका बिरामीको ब्लड प्रेसर, पल्स ९नारी० र श्वासप्रश्वास समान्यभन्दा निकै तल हुुनाका साथै बेहोस अवस्थामा अस्पतालमा आउने गरेपनि ती महिला सामान्य अवस्थामै अस्पतालमा पुगेकी थिइन् । मृत्युको मुखमा पुगेका बिरामीलाई शल्यक्रिया गरी ज्यान जोगाएर लोकप्रिय चिकित्सक बनेका डा मल्लका अनुसार पाठेघरबाहिर १३ हप्तासम्म जीवित बच्चा भेटिने विश्वकै ३० हजार गर्भवती महिलामा एक मात्रै हुने गर्छ ।

डा मल्लले शल्यक्रिया पछाडि समेत केही समय बच्चाले शरीर र खुट्टा चलाइरहेको भिडियो देखाउँदै नेपालमा निकै कम सङ्ख्यामा यस्ता बिरामी भेटिने गरेको बताउनुभयो । उहाँले दुर्लभ मानिएको बिरामीको उपचार अगाडि विश्वभर अपनाइएको विधि र शल्यक्रियामा देखिएका समस्यालाई विश्वका ठूला अस्पताल र अनु्भवलाई समेत हेर्ने गरिएको बताए ।

पच्चीस शय्याको अस्पतालमा पाठेघरबाहिर आन्द्रामा बच्चा बसेको, योनीभित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाइते, पिसाबको थैलोमा भएका ढुङ्गा, अण्डकोष तल नझरेको, एपेन्डिक्स, हड्डी, नसा चँुडिएका लगायत चिकित्सा क्षेत्रमै जटिल मानिएका शल्यक्रियामा सफलता प्राप्त गरेपछि बिरामीको आकर्षणसमेत बढेको छ ।

बिरामीका आफन्तले समेत आश मारेका बिरामीलाई यहाँका चिकित्सकले अन्तर्राष्ट्रियस्तरका अनुभवहरूलाई हेरेर समेत शल्यक्रिया गर्ने गरेका छन् । बेनी अस्पतालमा रहेका डा मल्ल र प्रमुख रोशन न्यौपानेले जटिल शल्यक्रियाको पुरानो अनुभव र दर्जनौँ तालिममा समेत सहभागिता जनाएका छन् ।

अन्तिम अवस्थामा अस्पतालमा पुगेकालाई ज्यान जोगाएर थप उपचारका लागि पोखरासम्म पु¥याएका यहाँका चिकित्सकहरुका बारेमा पोखराको मणिपाल र गण्डकी अस्पतालमा समेत चर्चा हुने गरेको छ । नेपालको चिकित्सा क्षेत्रमा जटिल सूचीमा रहेका शल्यक्रियाको सफल शल्यक्रिया भएपछि सहयोग गर्ने निकायले समेत आधुनिक प्रविधियुक्त उपकरण दिन प्राथमिकता दिएका छन् ।

“हामीले मृत्युनजिक पुगेका धेरै बिरामीलाई अस्पतालबाटै बचाउन सफल भएका छाँै । ठूला शल्यक्रियासमेत जिल्लामै हुन थालेपछि बिस्तारै आवश्यक उपकरण समेत थपिँदैछ”, बेनी अस्पतालका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरिन्टेन्डेण्ट डा रोशन न्यौपानेले भने ।

डा न्यौपानेले निक साइमन इन्स्टिच्युट अमेरिकाले अनुभवी चिकित्सकसहित आवश्यक उपकरणमा समेत सघाएपछि जटिल शल्यक्रियासमेत जिल्लामै सम्भव भएको बताउनुभयो । पोखराबाट समेत उपचार असम्भव भन्दै फर्किएका बिरामीले बेनी अस्पतालमा पुगेर शल्यक्रिया गरी उपचार गराएको समेत भेटिएको छ ।

अघिल्लो सरकारका स्वास्थ्य मन्त्री गगनकुमार थापाले समेत बेनी अस्पतालको सेवाबाट उत्साहित भएको भन्दै अस्पतालमै पुगेर चिकित्सकलाई धन्यवाद दिए ।

 

अनुभवी चिकित्सकले परिवारले नै आश मारेका बिरामीको समेत सफल उपचार गर्न थालेपछि विगतको तुलनामा बिरामीको चापसमेत बढेको छ । १३ हप्ताको पाठेघरबाहिर रहेको जीवित बच्चाको सफल शल्यक्रिया गरी बिरामीको ज्यान जोगाएको घटनाको देशभर चर्चा भइरहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *