२०८२ चैत ५ गते | 19th of March 2026

एमाले अध्यक्ष ओलीले देउवालाई भने, ‘देशलाई खान जन्मेका’

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३ गते १४:३१

भक्तपुर, ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी कांग्रस गठबन्धनको सरकार प्रति आक्रोस व्यक्त गरेका छन । मंगलबार चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओली राज्यले थेग्नै नसक्ने गरी मन्त्री मण्डल बनाएको भन्दै आक्रोस व्यक्त गरेका हुन ।
‘यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ? चुनाव गर्न मन्त्री पुगेन की के गर्न ?’ ओलीले भने, ‘यी देश बनाउन जन्मिएका होइनन्, खान जन्मिएका हुन्, भ्रष्टाचार गर्न मन्त्री थपेका हुन् ।’
निर्वाचन आयोगले आचारसंहिता उलंघन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको उनले टिप्पणी गरेका थिए । ओलीले भने , ‘कमिलालाई काल आएपछि प्वाँख आउँछ रे, कांग्रेस पनि त्यस्तै हो, सत्तामा गएपछि कांग्रेसको पनि प्वाँख आउँछ, अहिले त्यही भइरहेको छ, अब नागरिकले कांग्रेसको उम्रिएको पखेँटा काट्छन ।’
मंसिरको चुनाव अगावै सरकारले धाँधली र अनियमितता गर्न थालेको आरोप लगाउँदै उहाँले आचार संहिता विपरित सरकारले ६० जिल्लाको सिडिओ सरुवा गरेर यसलाई चरितार्थ पारेको टिप्पणी गरे ।
चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उहाँले दलहरुबिच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाउनु भयो । चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उनको भनाई थियो ।
कार्यक्रममा राप्रपाका भक्तपुर क्षेत्र नं। १ का अध्यक्ष सरोज थापा, सशस्त्र प्रहरीका पूर्व डिआईजी मुकुन्द थापा, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति गौरीमान सिंह थापा, राप्रपाका वडा अध्यक्षको प्रत्यारी उम्मेदवार ईश्वर थापा, ईश्वररञ्जन थापा लगायत २६६ जना राप्रपाका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गरेकाहरुलाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *