२०८१ साउन ११ गते | 26th of July 2024

लेखा समितिको बैठकमा मन्त्री अनुपस्थित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २० गते १६:३३

लुम्बिनी, २० भदौ । व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित हुन सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा आयोजना प्रमुखले अटेर गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल छ लेन सडकको विषयमा आयोजित सार्वजनिक सुनुवाइ तथा समितिको बैठकमा मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई बोलाइएको भए पनि उनीहरुले आउनमा अटेरी गरे ।

कार्यक्रममा अनुपस्थित सरकारका विभागीय दुई मन्त्री र सचिवलाई सार्वजनिक लेखा समितिले काठमाडौँमा अर्को बैठक आह्वान गरी स्पष्टीकरण लिने समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरसँग स्पष्टीकरण लिने भएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रुपन्देहीमा सञ्चालित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया–बुटवल सडकको स्थलगत अनुगमनपछि भैरहवामा आयोजित सार्वजनिक सुनुवाइपछि बसेको बैठकमा समेत दुवै मन्त्रीहरु बिना जानकारी अनुपस्थित भएकाले उनीहरुसँग स्पष्टीकरण लिइने समितिका सभापति उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *