२०८१ वैशाख २२ गते | 4th of May 2024

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद मिल्यो ,विवादित वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ८ गते १३:३०

काठमाडौं – नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद मिलेको छ। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच बूढानिलकण्ठमा सोमबार बेलुकी छलफलपछि समस्याको समाधान गर्ने सहमति भएको हो।

शीर्ष नेताहरूबीच विवादित वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति भएको छ। भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा अधिवेशन छ। कांग्रेसमा वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्। क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न केन्द्रीय समितिले पूर्वमहामन्त्री सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो। उनीहरूले करिब एक साता छलफल गरेर सहमतिमै विवाद टुंग्याएका छन्। सिटौलाले सोमबार बेलुकी १० बजे सभापति देउवालाई प्रतिवेदन नै बुझाइसकेका छन्। ‘नवीकरणमा कुनै विवाद देखिए विगत महाधिवेशनको क्रियाशील सदस्यताको प्रमाणलाई आधार मानेर कार्यान्वयन गर्ने’ पनि शीर्ष नेताहरू बीचमा सहमति भएको छ। छुट भएका क्रियाशील सदस्यले भदौ १० भित्र निवेदन दिएमा क्रियाशील सदस्यता नवीकरण गर्ने पनि सहमति भएको छ। तर त्यसका लागि विगत महाधिवेशनका बेलाको क्रियाशीलको प्रमाण पेश गर्नुपर्ने हुन्छ।

यस्तै अरू पार्टीबाट कांग्रेसमा समायोजन भई आएकाहरूलाई पनि क्रियाशील दिने सहमति भएको छ। प्रक्रिया पुर्‍याएर केन्द्रबाट नाम पठाइएकाहरूको नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउने शीर्ष नेताबीच सहमति छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *