२०८१ असार ४ गते | 17th of June 2024

को हुन महत्मा गान्धीका हत्यारा नाथुराम विनायक गोडसे ?

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ११ गते १५:०१

बिबिसी –   सन् १९४८ को ज्यानुअरी ३० को साँझ नाथुराम विनायक गोडसेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरे।  भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो।

अठतीस वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी सङ्गठन हिन्दू महासभाका सदस्य थिए। उक्त सङ्गठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दूहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो।  उनीहरूले गान्धीमाथि भारत-पाकिस्तान विभाजनमा मच्चिएको रक्तपातको दोष पनि लगाएका थिए। सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएपछि उक्त विभाजनबाटै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए।  एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई मृत्युदण्डको सजाय सुनायो। उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा गोडसेलाई मृत्युदण्ड दिइयो।

उनीसँगै उनका साथी नारायण आप्टेले पनि मृत्युदण्ड पाए भने अन्य छ जनालाई जन्मकैदको सजाय दिइयो। हिन्दू महासभामा आबद्ध हुनुपूर्व गोडसे राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का सदस्य थिए। आरएसएस भारतको अहिलेको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) लाई जन्माउने मुख्य माउ सङ्गठन हो। भारतमा हिन्दू राष्ट्रवादको ९५ वर्षे अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पनि लामो समयदेखि आरएसएसको सदस्य रहेका व्यक्ति हुन्। अहिले पनि उनको सरकार र बाहिर पनि आरएसएसले गहिरो तथा प्रभावशाली भूमिका खेल्छ।

दशकौँदेखि आरएसएसले गोडसेलाई “राष्ट्रपिता”का हत्याराका रूपमा “एक पतित व्यक्ति” का रूपमा चित्रित गर्दै आएको छ। गान्धीलाई भारतीयहरू सबैभन्दा सम्मानित व्यक्तित्वका रूपमा मान्ने गर्छन्। यद्यपि पछिल्ला वर्षहरूमा हिन्दू दक्षिणपन्थीहरूले गोडसेलाई आदर्शका रूपमा चित्रित गर्न र गान्धीको हत्या भएको दिनलाई खुला ढङ्गले उत्सवका रूपमा मनाउन थालेका छन्।

गत वर्ष भाजपाकी एक सांसदले गोडसेलाई “देशभक्त”को सङ्ज्ञा दिएकी थिइन्। त्यसले धेरै भारतीयलाई आक्रोशित बनाएको थियो। आरएसएस भने गान्धीको हत्या गर्नुअघि नै गोडसेले उक्त सङ्गठन छाडिसकेको पुरानै अडानमा कायम देखिएको छ।

यद्यपि एउटा नयाँ पुस्तकले त्यो सत्य नभएको दाबी गरेको छ। माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका गोडसले महासभामा सदस्य बन्नुअघि लुगा सिउने काम गरेका थिए र फलफूल बेच्ने काम पनि गरे। महासभाको सदस्य भएपछि भने उनी उक्त संस्थाको पत्रिका सम्पादन गर्थे। अदालतमा बयानका बेला उनले एउटा अनुच्छेद पढ्न पाँच घण्टाभन्दा बढी समय लगाएका थिए। उनले महात्मा गान्धीको हत्या गर्ने कुनै पनि “षड्यन्त्र नभएको” बताएर आफ्ना साथीहरूले गलत कार्य नगरेको प्रमाणित गर्न खोजेका थिए। उनले आफ्ना नेता विनायक दामोदर सवारकरको उक्त हत्यामा कुनै मार्गनिर्देशन थियो भन्ने आरोपलाई अस्वीकार गरे। सवारकरलाई भारतमा हिन्दूत्व र हिन्दूपनको जन्मदाता मानिन्छ। सवारकरमाथि लागेका सबैखाले आरोपबाट उनलाई मुक्त गरिएको थियो तर पनि आलोचकहरू गान्धीको उग्र घृणा गर्ने उनी उक्त हत्याकाण्डमा संलग्न भएको ठान्छन्। गोडसेले अदालतमा आफूले गान्धीको हत्या गर्नु धेरै अघि आरएसएस छाडिसकेको बताएका थिए।

‘गान्धीज् अस्यासिन’ का लेखक धीरेन्द्र झाका अनुसार हुलाकका एक कर्मचारी पिता र गृहिणी आमाका छोरा गोडसे आरएसएसका एक “प्रमुख कार्यकर्ता” थिए। उनका दाबीमा गोडसेलाई उक्त संस्थाबाट हटाइएको कुनै प्रमाण देखिँदैन।