२०८२ असार ३० गते | 14th of July 2025

संसदमा रास्वपाकाे निलो रिबन , काँग्रेस एमालेले जनाए आपत्ति

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ३ गते १४:१४

काठमाडौ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दैै बर्तौलाले निलो स्कार्फ लगाएर रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका हुन्। मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए पुनः निलो स्कार्फ लगाएर विरोध गर्ने रास्वपाका सांसदहरुले अडान राखेपछि सहमति खोज्नका लागि बिहीबारसम्मका लागि स्थगित गरिएको उनले बताए। बर्तौलाले रास्वपाका सांसदहरुको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे। निलो रिबन लगाएर मंगलबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्को नियमावलीअनुसार अमर्यादित पोसाक लगाउन नपाइने स्पष्ट व्यवस्था रहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरिरहेको रास्वपाका सांसदहरूले निलो रिबन लगाएर विरोध गरेका हुन्। मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ। भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा परेयता रास्वापाले संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएको छ। यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता भएको भन्दै रास्वपाले छानबिनका लागि संसदीय समिति बनाउन माग गरिरहेको हो। यसअघि रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गरेको थियो।

रास्वपाका सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *