काठमाडौं ६ भाद्र । राप्रपाले पार्टीको निर्णय नमान्ने सांसदलाई कारबाही गर्ने बताएको छ । सोमबार ब्यवस्थापिका संसदमा निर्णयार्थ पेस भएको संविधान संशोधन विधेयकको बिपक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्विप नमान्ने सांसदलाई राप्रपाले कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । संसदको हिजोको बैठकमा १९ जना सांसद मात्र उपस्थित रहेको भन्दै राप्रपाले अनुपस्थित हुने बाँकी १८ जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउने बताएको हो । ३७ सिट रहेको राप्रपाबाट बरिष्ठ नेता पशुपति शम्शेर राणा नेतृत्वको प्रस्तावित राप्रपा प्रजातान्त्रिकमा सहभागी भएको भन्दै राप्रपा रुष्ट बनेको हो ।
कानूनी कारवाही गर्ने सम्बन्धमा छलफल गर्न राप्रपाले पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाएको छ । सहप्रवक्ता मोहन श्रेष्ठकाअनुसार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजेपछि बैठक बस्नेछ । राप्रपाले कारवाही गरे पार्टीको निर्देशन अवज्ञा गर्ने ३ प्रत्यक्ष सहित १८ जना सांसदको पद धरापमा पर्नेछ ।